इटहरी / इटहरी उपमहानगरपालिका वडा नम्बर -१६ मा रहेको शिक्षादीप बोर्डिङ स्कुलका शिक्षकले १४ वर्षिय विद्यार्थीमाथि बुधबार निर्घात कुटपिट गरेका छन् ।  

कुटपिटबाट कक्षा ९ मा अध्ययनरत विद्यार्थी अंसल बुढाथोकीको शरीरका विभिन्न भागमा निलडाम बसेको छ । साँझ स्थानिय मेडिकलमा प्राथमिक उपचार गरिएका बुढाथोकीलाई अहिले दुःखाइ बढेपछि विराटनगरस्थित विराट टिचिङ अस्पताल लगिएको उनका ठूलोबुवा राजनले जानकारी दिए ।

गणित पढाउने शिक्षक पुर्णप्रसाद पोख्रेल (पीपी पोख्रेल) ले हात, ढाड तथा नितम्बमा कुटेको राजनले बताएका छन् । पहिलो घण्टीमा होमकर्व नगरेको निहुँमा कुटिएका अंसललाई गाह्रो भयो भनिरहँदा पनि दिनभरी कक्षामा राखेर यातना दिएको समेत उनले बताएका छन् ।

राजनका अनुसार अविभावकलाई भनेमा झन् कुट्ने धम्की शिक्षकले दिएका थिए । 

त्यसपछि स्कुललाई सम्पर्क गर्दा स्कुलले गैह्रजिम्मेवारीपूर्ण जवाफ दिएको पनि राजनले बताए । त्यसपछि आफूहरुले इलाका प्रहरी कार्यालयमा ठाडो उजुरी दिएको बताए । त्यसपछि भने विद्यालयले कुटपिट गर्ने शिक्षकलाई कारवाही गर्न सहयोग गर्ने आश्वासन दिएको उनले बताए । 

'हिजो बेलुका जानकारी गराउनुभएको थियो, आज जाहेरी दिँदै हुनुहुन्छ, सर्सर्ती हेर्दा कुटपिट भएको देखिन्छ,’ इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी टेकबहादुर कार्कीले भने ।

सो विषयमा विद्यालयको भनाई बुझ्न प्रिन्सिपल सहदेव काफ्लेलाई फोन गर्दा उनको फोन उठेन । काफ्ले जनता बहुमुखी क्याम्पस स्ववियु सभापती हुन्