भोजपुर / नेपाल खेलकुद प्रतिष्ठान खोटाङले आयोजना गरेको ‘प्रथम बृहत् खोटाङ–हलेसी खेलकुद, साहित्यिक, साँगीतिक तथा पर्यटन महोत्सव–२०८१’ अन्तरगत बिहीबार आयोजित खुला राष्ट्रिय कविता प्रतियोगिताको उपाधि सुनसरीका कवि किरण सिवाले प्राप्त गरेका छन्।
त्रिधार्मिकस्थल हलेसीमा आयोजित प्रतियोगितामा १५ जना प्रतियोगीलाई पछि पार्दै कवि सिवाको ‘बिर्खे दमाईको आवाज’ शीर्षकको कविताले रु ४० हजार राशीको खुला राष्ट्रिय कविता प्रतियोगिता–२०८१ को उपाधि चुमेको हो।
आयोजकसँग दर्ता भएका कवितामध्य छनोटमा परेका १६ वटा कविता प्रत्यक्ष वाचन गराएर फाइनल प्रस्पिर्धा गराइएको प्रतियोगितामा भोजपुरका कवि सङ्ग्राम किरातीको कविता ‘बाध्यता कि रहर’ दोस्रो, उदयपुरका जीवन चाम्लिङ राईको ‘भरिया दाइ’ तेस्रो, सिन्धुलीका बाबुराम श्रेष्ठ ‘यात्री’को कविता ‘छम्कली रोकाया’ चौथो तथा भोजपुरकी शकिला राईको ‘म यात्री मनको’ कविताले पाँचौँ स्थान हात पारेको छ।
कविता प्रतियोगिताका विजयीलाई क्रमशः नगद रु ४० हजार, रु २५ हजार, रु १७ हजार, रु ११ हजार र रु सात हजार प्रदान गरिएको आयोजकले जनाएको छ।
प्रतियोगिताका विजयीलाई कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई, सदस्य सचिव डा. धनप्रसाद सुवेदी, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई, हलेसी तुवाचुङ नगरपालिकाका नगर प्रमुख विमला राई, वरिष्ठ कवि तथा साहित्यकार जसराज किराती लगायतले नगद तथा पुरस्कार प्रदान गरेका छन्।
हलेसीस्थित होटल जाम्बालामा आयोजित प्रतियोगिताका लागि धनकुटाका अनिल अदृष्यको ‘इन्द्रेणीको अनुहार’, सुनसरीका किरण सिवाको ‘बिर्खे दमाईको आवाज’, तनहुँका चेतन न्यौपानेको ‘युवाको खाँचो’, उदयपुरका जीवन चाम्लिङ राईको ‘भरिया दाइ’, सिन्धुलीका बाबुराम श्रेष्ठ ‘यात्री’को ‘छम्कली रोकाया’, कालिकोटका रणबहादुर रानाको ‘असन्तोषको पर्खाल’, भोजपुरकी शशिकला राईको ‘म यात्री मनको’ र भोजपुरकै सङ्ग्राम किरातीको ‘बाध्यता कि रहर’ छनोटमा परेको थियो।
साहित्यकार किरातीले साहित्य लेखनको माध्यमबाट समाज रुपान्तरणमा पुर्याएकोे योगदानको कदरस्वरुप नगदसहित दोसल्ला ओढाएर ताम्रपत्रले सम्मान गरिएको आयोजकले जनाएको छ।


