भोजपुर / भोजपुरको टेम्केमैयुङ गाउँपालिका ३ अन्नपूर्णको स्वास्थ्य चौकीमा निर्माण भएको प्रतिक्षालय हस्तान्तरण गरिएको छ ।

ब्यक्तिगत चार लाख आठ हजार लागतमा निर्माण भएको (विष्णु विसौनी) प्रतिक्षालयको विष्णुदेवि बान्तावाले स्वास्थ्य चौकी अन्नपूर्णलाई बुधबार हस्तान्तरण गर्नु भएको हो । छोराहरु रामकाजी बान्तावा, नेत्रध्वज बान्तावा, ताराध्वज बान्तावा र राजेन्द्र बान्तावाले आमा विष्णुदेवी बान्तावाको नाममा ब्यक्तिगत लागतमा उक्त प्रतिक्षालयको निर्माण गरिदिनु भएको हो ।

स्वास्थ्य चौकीमा आउने विरामीहरुलाई सहजता होस् भन्ने उद्देश्यले आमा विष्णु देवि बान्तावाको सम्मानमा प्रतिक्षालय निर्माण गरिदिएको पूर्व एआइजी तथा उहाँका छोरा रामकाजी बान्तावाले बताउनुभयो । 

२०७३ सालमा स्वास्थ्य चौकी अन्नपूर्णको जग्गा खरिदका लागि बागमती अञ्चलका पूर्व मूख्य अञ्चालधिस स्वर्गिय बाबु मक्कर बहादुर बान्तावाले आठ लाख रकम सहयोग गर्नु भएको थियो । आगामी दिनमासमेत सामाजिक क्षेत्रमा कामगर्ने इच्छा रहेको उहाँले बताउनुभयो । प्रतिक्षालय निर्माणले स्वास्थ्य चौकीमा आउने विरामी तथा सेवाग्राही नागरिकलाई सहज भएको टेम्केमैयुङ गाउँपालिका वडा नं ३ का वडाध्यक्ष तथा स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष पूर्णप्रसाद राईले बताउनुभयो ।

 यसले स्वास्थ्य चौकीमा सेवा लिन आउने नागरिकहरुलाई सहज भएको छ । स्वास्थ्य चौकी व्यवस्थापन समितिको बैठक वस्ने ठाउँसमेत थिएन । अव भने बैठक तथा छलफल गर्न समेत सहज भएको छ । 

कार्यक्रममा बोल्दै टेम्केमैयुङ गाउँपालिका उपाध्यक्ष रमादेवी राईले स्थानीय तहको सीमित स्रोत साधानका बीच पनि स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथामिकतामा राखेर काम गरिरहेकोे बताउनुभयो । प्रतिक्षालय निर्माणले सेवाग्राहीलाई सहज भएको उहाँले धारणा राख्नुभयो । गाउँपालिकाका अन्य स्वास्थ्य संस्थामा पनि यस्ता खालका सहयोग गर्न उहाँले आग्रह समेत गर्नुभयो ।

व्यक्तिगत लगानीमा विष्णुदेवी बान्तावाका छोरा बुहारीहरुले गर्नु भएको काम प्रसंशायोग्य रहेको गाउँपालिका अध्यक्ष सरोज बस्तेतले बताउनुभयो । उहाँहरुले जस्तै टेम्केमैयुङ गाउँपालिकामा जन्मनुभएको अन्य महानुभावहरुलाई पनि आफ्नो जन्मभूमीमा यस्तै खालका काम गर्नसमेत आग्रह गर्नु भयो ।

विरामीहरुले घण्टौं लगाएर स्वास्थ्य चौकी आउनुपर्ने बाध्यता रहेको स्वास्थ्य चौकी अन्नपूर्णकी प्रमुख गिता भट्टराईले बताउनुभयो । टाढाबाट थाके आएका सेवाग्राहीलाई प्रतिक्षालय निर्माणले सहज भएको उहाँको भनाइ छ ।