खोटाङ / जंगलमा लागेको डढेलो गाउँ पस्दा खोटाङमा एकै दिन १५ घर खरानी भएका छन् । जिल्लाको बाराहा   पोखरी गाउँपालिका–१ मा ११ परिवारको १३ वटा घर जलेर नष्ट भएको छ । हलेसी तुवाचुङ नगरपालिका–४ बडहरेमा २ वटा घर खरानी भएका छन् ।

 बुधवार दिउँसो विभिन्न सामुदायिक वनमा लागेको डढेलो गाउँमा पस्दा बाराहापोखरीमा बसोबास नभएको तीन वटासहित १३ घर, ७ वटा मतान, २ वटा गोठ र १ बाख्राको खोर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको   छ । 

 रक्तमाला सामुदायिक वनमा लागेको डढेलोले भिरगाउँका मोहनलाल थापा मगरको दुई वटा घर र मतान, पूर्णबहादुर मगरको एक घर र तीन मतान, भद्रसिं मगरको घर र दुई वटा गोठ, सुवास थापा मगरको घर र मतान तथा मदन थापा मगरको बसोबास नभएको घर जलेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी पुरुषोत्तम खड्काले जानकारी दिए ।

 यस्तै, रक्तमाला सामुदायिक वनबाट आएको डढेलोले डान्सिङटारका गंगामायाँ मगरको दुई वटा घर र दुई वटा मतान, ४० वटा बाख्रा, आधा तोला सुन, नगद ५० हजार लगायत जलेको छ ।यस्तै, धुसेनी सामुदायिक वनमा लागेको डढेलोले बसोबास नभएको खोर्सानेका सुमन मगर र गहतेका लेखराज खतिवडाको घर नष्ट भएको छ । डाँडाखर्क सामुदायिक वनमा लागेको डढेलोले डाँडाखर्कका होमबहादुर कटुवाल र पदमबहादुर कटुवालको घर जलेको छ ।

बुधवार दिउँसो स्थानीय ठूलोवन सामुदायिक वनमा लागेको डढेलोले हलेसी तुवाचुङ नगरपालिका–४ बडहरेको तल्लोखोक्सेलीका भूपराज आले मगर र भीमबहादुर बस्नेतको घर तथा नरबहादुर भुजेल, भेषबहादुर भुजेल र पदमबहादुर मगरको गोठ जलेको हो ।