भोजपुर / भोजपुरको टेम्कमैयुङ गाउँपालिका वडा नम्बर ४ मा अवस्थित महभिर झरना पर्यटकीय गन्तव्य बनाउन स्थानीय सरकार लागि गरेको छ ।
भोजपुर सदरमुकामबाट करिब २९ किलोमिटर र गाउँपालिका केन्द्रबाट करिब साढे चार किलोमिटर पश्चिममा अवस्थित यो झरनामा बाह्रै महिना पानी उत्तिकै मात्रामा बग्ने गर्दछ । गाउँपालिकाले विकास तथा संरक्षणमा ध्यान दिएसँगै यहाँ पुग्ने आन्तरिक तथा बाह्य पर्यटक सङ्ख्याको वृद्धि हुन थालेको छ । झरना मुख्य राजमार्गबाट करिब साढे दुई किलोमिटरभित्र रहेको छ ।
झरना आउने पर्यटककलाई नुहाउन साथै शौचालय जानका लागि टेम्केमैयुङ गाउँपालिका र वडा कार्यालय मिलेर शौचालय र कपडा बनाउने भएको टेम्केमैयुङ वडा नम्बर ४ का वडा अध्यक्ष हर्कराज राई बताउनुभयो । यहाँ विशेष गरि असोज कात्तिकको समयमा पर्यटक आउने उहाले बताउनुभयो ।
विगतका वर्षमा भिरमौरी बस्ने भएकाले यो झरनाको नाम नै महभिर झर्ना रहेको स्थानीय संगम राईले बताउनुभयो ।
गाउँपालिकाको पर्यटकीय केन्द्र महभिर झरनालाई आवश्यक संरचना निर्माण गरेर गाउँपालिका भरिका पर्यटकीय स्थल बाट आम्दानी बढाउन गाउँपालिका लागि परेको गाउँपालिका उपाध्यक्ष रमादेवि राईले बताउनुभयो ।
झरनाबाट झरेको पानीको फोहोराले पर्यटकको मनै लोभ्याउने गरेको छ । खास गरेर यहाँ गर्मीको समयमा बढी मानिस झरनाको मज्जा लिन पुग्ने गरेका छन् । भदौ ,असोज र कात्तिकको समय दिनमा १ सय देखि १ सय ५० सम्म पर्यटक आउने गरेका छन् । विगतका वर्ष भन्दा अहिले सडक निर्माण भएर आवज जावजमा सजिलो भएकाले वर्षाको समयमा पर्यटक आउने गरेका स्थानीय स्थानीय मित्राहाङ राईले बताउनुभयो ।
गाउँपालिकाले यहाँ पुग्ने बाटोको विस्तारसँगै झरना वरिपरि पर्यटकलाई लक्षित गरेर आवश्यक संरचना निर्माणको काम गरिएको गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले जानकारी दिनुभयो ।
झरनाको अझ प्रचार–प्रसारसँगै आवश्यक पूर्वाधारको विकास गर्नसके गाउँपालिकालाई आर्थिक स्रोत विकासमा टेवा पुग्ने थियोे ।


