काठमाडौँ / महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका लागि नेपालले अपनाएको समावेशी चरित्र विश्वमाझ पुर्याएर इन्द्रेणी पर्यटन भित्र्याउन लाग्नु पर्ने बताउनुभएको छ ।
नेपालमा पहिलो पटक आयोजना भएको इन्द्रेणी (रेन्बो) पर्यटन अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री चौधरीले त्यस्तो बताउनुभएको हो ।
पहिलो अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरेकोमा आयोजक एवं सहयोगीलाई धन्यवाद दिँदै मन्त्री चौधरीले इन्द्रेणी पर्यटन क्षेत्रबाट थाइल्यान्डको कुल गार्हस्थ्य उत्पादनमा २० प्रतिशत योगदान दिएको उल्लेख गर्नुभयो ।
लैङ्गिक समानता नीति २०७७ मै लागू भएको बताउदै मन्त्री चौधरीले भन्नुभयो, 'लैङ्गिक समानता नीति २०७७ मा लागू भएको छ, पहिलो समलिङ्गी विवाह दर्ता भएको छ । विगतमा पनि यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका लागि लुम्बिनी र कोशी प्रदेशमा अभिमुखीकरण र सचेतनाका कार्यक्रम सञ्चालन भएका थिए, अब सातै प्रदेशमा सञ्चालन गर्ने तयारी गरेका छौँ ।’
त्यस अवसरमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका लागि नेपाल सुरक्षित र सम्मानित रहेको दाबी अन्तर्राष्ट्रिय समुदाय समक्ष प्रस्तुत गरिएको थियो । मन्त्री चौधरीले नेपालमा सबै खाले हिंसा अन्त्य हुने र सम्मानित हुने पर्याप्त कानुन रहेको दाबी समेत गर्नुभयो ।
नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा मायाको पहिचान नेपालले अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरेको हो । नेपाललाई इन्द्रेणी पर्यटनको गन्तव्य बनाउने उद्देश्यका साथ आयोजना भएको सम्मेलनमा मन्त्री चौधरीले लैङ्गिक समानताका लागि कानुन पर्याप्त रहेको भन्दै पूर्ण रूपमा कार्यान्वयनको क्रममा रहेको जानकारी दिनुभयो ।
नेपालमा पहिलो पटक १३ मङ्सिर २०८० मा लमजुङको दोर्दी गाउँपालिका कार्यालयले माया गुरुङ्ग र सुरेन्द्र पाण्डेलाई विवाह दर्ताको प्रमाण पत्र दिएको थियो । माया र सुरेन्द्रको पहिलो विवाह दर्ता भएसँगै सुप्रिता गुरुङ्ग र दिप्ती श्रेष्ठलाई बर्दियाको बढैयाताल गाउँपालिकाले लेस्बियन विवाह दर्ताको प्रमाण पत्र दिएको छ ।
एसियाकै पहिलो समलिङ्गी सभासद् एवं मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनिलबाबु पन्तले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक पर्यटकलाई स्वागत गर्न नेपाल तयार भएर बसेको बताउनुभयो ।
नेपालका लागि युरोपियन युनियनकी राजदूत भेरोनिक लोरेन्जोले विश्वका १४५ देशमा गरिएको अध्ययनमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकका लागि नेपालको अवस्था राम्रो रहेको बताउनुभयो ।
गो म्यागेजिनकी सम्पादक डियान एन्डरसनले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक पर्यटनको ग्लोबल अवलोकन र अर्थतन्त्र/जिडिपीमा यसको योगदान प्रस्तुत गर्दै इन्द्रेणी (रेन्बो) पर्यटनको बजार विश्वमा २ खर्ब ११ अर्ब डलरको रहेको बताउनुभयो
अमेरिका, चीन र जापानमा रहेको इन्द्रेणी पर्यटनको खरिद शक्ति नेपालसँग पनि रहेको उहाँले बताउनुभयो । उहाँले तीन वटा देशमा कोभिडको समयमा ४ ट्रिलियन डलर रहेको इन्द्रेणी पर्यटनको बजार अहिले ४.७ ट्रिलियन डलर पुगेको अध्ययन सुनाउनुभयो ।
विश्वमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको जनसङ्ख्या ३० करोड रहेको बताउँदै उहाँले भन्नुभयो, ‘यो कुल जनसङ्ख्याको ६.५ प्रतिशत हुन आउँछ । उनीहरू धेरै घुम्न रुचाउने हुन्छन् ।’
पर्यटन सम्मेलनमा अमेरिका, न्यूजिल्याण्ड, जर्मनीका पर्यटन व्यवसायीले कार्यपत्र प्रस्तुत गर्नुभयो भने भारतीय लेखक एवं म्याथोलोजिष्ट देवदत्त पटनायक र पारोमिताले यौनिकता तथा लैङ्गिकताबारे पुराना तथ्यहरू प्रस्तुत गर्नुभएको थियो ।


