इलाम / सूर्योदय नगरपालिका -९ ढोडेका रामप्रसाद राईले चियाको प्राङ्गारिक खेती सुरु गरेको ६ वर्ष । उनको १६ रोपनी क्षेत्रफलमा फैलिएको चिया बगानबाट दैनिक ८० किलो उत्पादन हुन्छ ।“प्रतिकेजी रु एक सय एकका दरले सुन्दरपानी कृषि सहकारी संस्थालाई दिन्छौँ, उसले रु एक नाफा राखेर गोर्खा टी स्टेटलाई बेच्छ,” राईले भने “नगरपालिकाले तोकेको चियाको न्यूनतम समर्थन मूल्य प्रतिकिलो रु ४० हो तर हाम्रो चिया प्राङ्गारिक भएकाले रु एक सयभन्दा बढी मूल्य पाएका छौँ । '' राईमात्र होइन साङपाङ टोल ढोडेका सबै किसानले रासायनिक मलको प्रयोग छाडेर गाई–बाख्राको मल प्रयोग गरिरहेका छन् ।
यो टोलका विनोद मोक्तान, विमल, सुशीला, रामप्रसाद, आरवलक्षि, पूर्ण र तारा राईका परिवार बिहानसाँझ चियाको गोडमेल, मलजल, सिँचाइ र टिपाइमा व्यस्त हुन्छन् । बेलामा पानी नपरेकाले केही ढिलो भए पनि यस वर्षको टिपाइ अब सुरु हुन लागेको मन बहादुरले बताए । उनका अनुसार चैत दोस्रो साताबाट चियाको पहिलो टिपाइ सुरु हुन्छ । हरियो चिया उत्पादनको उर्वर समय चैतदेखि असोजसम्मको ६ महिना हो ।
उत्पादन गुणस्तरीय नहुँदा विश्व बजारमा निर्यात नहुने भएपछि नगरपालिकाले प्राङ्गारिक चिया उत्पादनको अभियान चलाइरहेको छ । ६ वर्षअघि नै चियाको कार्यविधि बनाएर न्यूनतम समर्थन मूल्य तोकेको सूर्योदयमा चियाको टिपाइ सुधार हुन नसक्दा भारतलगायत मुलुकमा नेपाली चिया बिक्रीमा समस्या छ ।
चियाको टिपाइ सुधार गर्न नगरपालिकाले तीन सय किसानलाई चिया टिप्ने हाते मेसिन वितरण गरिरहेको नगरप्रमुख रणबहादुर राईले बताए । “टिपाइमा सुधार भइसकेपछि न्यूनतम समर्थन मूल्य कार्यान्वयन हुन्छ । करिब तीन सय ओटा चिया टिप्ने हाते मेसिन वितरण भइरहेको छ । चियालाई ‘ब्रान्डिङ’ गर्नुपर्छ, ‘टी’ परीक्षण गर्नुपर्छ भनेर निर्माण गरिएको ‘टी टेस्टिङ एन्ड रिसर्चिङ सेन्टर’ पनि अबको केही महिनाभित्रै सञ्चालन हुँदैछ ।”
नगरपालिकाको दीर्घकालीन सोचको नारा नै ‘सूर्योदय नगरपालिकाको समृद्धि, प्राङ्गारिक कृषि पर्यापर्यटन र आर्थिक समानता’ भन्ने रहेको छ । २०७५ साउन १ गते नै निषेधित विषादी मुक्त पालिका घोषणा गरी सबै १४ वडाका दुई सय ५२ टोलमा सचेतना कार्यक्रम भइसकेको नगर आर्थिक विकास समितिका संयोजक देवेन्द्र आचार्यले बताए ।
नगरपालिकाले तोकेको न्यूनतम समर्थन मूल्यमा भने किसानलाई अन्योलता अझै छ । “कार्यविधिमा न्यूनतम समर्थन मूल्य भनेर रु ४० तोकेका छौँ ।
आफूले टिपेको चियामा कति प्रतिशत मुना छ भन्ने कुराको जानकारी चिया तथा कफी विकास बोर्डबाट लिनुपर्ने नगरप्रमुख राईको भनाइ छ । आफ्नो चियाको मुनाको प्रतिशत बराबर रकम उद्योगबाट नपाएको खण्डमा नगरपालिकामा अथवा बोर्डमा किसानले गुनासो गर्नुपर्ने बताउँदै उनले किसानलाई न्यूनतम समर्थन मूल्य दिलाउने कर्तब्य नगरपालिकाको भएको बताए ।
नगरपालिकाले चियाबाट नै आर्थिक समृद्धि हासिल गर्ने लक्ष्य लिएको छ । कार्यविधि बनाएर गुणस्तर सुधार गर्न लागिपरेको सूर्योदयले चियामा विषादीको प्रयोग रोक्न सकेको छैन । अर्कातिर किसानलाई प्राङ्गारिक खेतीमा आकर्षित गर्न अनुदानको कार्यक्रम छैन ।
नेपाली चियाको अन्तरराष्ट्रिय ‘ब्रान्डिङ’ प्रवद्र्धनका लागि सहयोग, साना किसानका लागि हरियो पत्ती उत्पादनका आधारमा उखुमा जस्तै अनुदान दिनुपर्ने माग उद्योगीले गरेका छन् । उद्योगी उदय चापागाईंले कृषिका अन्य क्षेत्रमा जस्तै चियामा अनुदान दिन सरकारले कञ्जुस्याइँ गर्ने गरेको बताए।
सूर्योदय नगरपालिकामा ६२ भन्दा बढी चिया प्रशोधन उद्योग छन् । तीमध्ये सूर्योदय टी एसोसिएसनमा ५२ वटा उद्योग आबद्ध छन् । यहाँ तीन हजार हाराहारी किसानको हरियो चियापत्ती प्रशोधन गरिन्छ । यहाँका उद्योगमा सूर्योदय नगरपालिकाको मात्र होइन माइजोगमाई, रोङलगायत किसानले उत्पादन गरेको हरियो पत्ती प्रशोधनका लागि पुग्ने गरेको छ । यहाँको तयारी चिया भारतसहितका तेस्रो मुलुकसम्म पुग्ने गरेको छ ।
नगरपालिकाले किसानलाई हरियो चियापत्तीको मूल्य प्रतिकिलो ४० दिने व्यवस्थासहित ‘हरियो चियाको गुणस्तर मापदण्ड कार्यान्वयन कार्यविधि’ पारित गरेको ५ वर्ष भयो । चिया उद्योगी र किसानको सहभागितामा कार्यविधि पारित गरिएको थियो । किसानले उद्योगलाई बेच्ने हरियोपत्तीमा अनिवार्य दुई पात एक सुइरोसहित निश्चित गुणस्तर कायम हुनुपर्ने कार्यविधिमा उल्लेख छ । कार्यविधिले किसानदेखि हरियो चिया सङ्कलक, उद्योगी, बिक्रेतालगायत सबैले चियामा निश्चित गुणस्तर कायम राख्नुपर्ने व्यवस्था गरेको छ । गुणस्तर कायम भए वा नभएको अनुगमन नगरपालिकाले नै गर्ने व्यवस्था कार्यविधिमा गरिएको छ ।


