रामधुनी । ग्लोबल आईएमई बैंक लिमिटेडले सुनसरीको इटहरी र झुम्कामा डिजिटल बैकिङ्ग सम्बन्धि वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । डिजिटल बैकिङ्ग सेवाको विस्तार र प्रोत्साहनका लागि देशव्यापी रुपमा वित्तीय साक्षरता अभियान अन्तर्गत आइतबार कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा ग्राहकहरुलाई बैंकले उपलब्ध गराउँदै आएका बिभिन्न प्रकारका डिजिटल प्रविधि तथा सेवाहरुको प्रयोग कसरी गर्ने र उक्त सेवाहरुको प्रयोगबाट दैनिक गतिविधिहरु कसरी सहज हुन सक्छन् भन्ने विषयमा अन्तरक्रिया तथा प्रयोगात्मक प्रशिक्षण भिडियो सामाग्रीबाट गराइएको थियो । उक्त कार्यक्रममै वाइफाईको उपलब्ध गराएर अधिकांश ग्राहकहरुलाई मिस्डकल बैंकिङको माध्यमबाट तुरुन्तै आफ्नो खाताको रकम चेक गर्ने तथा मोबाइल रिचार्ज गर्ने जस्ता कार्यहरु प्रयोगात्मक रुपमा गराइएको थियो ।
ग्राहकहरुको वित्तीय पहुँचसमेत विस्तार गर्ने उद्देश्य लिएको बैंकले ७६ जिल्लामा रहेका आफ्ना २ सय ८७ वटा शाखा कार्यालय, केन्द्रीय र प्रादेशिक कार्यालयलाई समेत परिचालन गरी ग्राहक तथा स्थानीयवासीहरुलाई लाभान्वित बनाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरेको ग्लोबल आईएमई बैंक लिमिडेटकी प्रबन्धक केन्द्रिय संचालन कमला ओझाले जानकारी दिईन् ।
आफ्ना ग्राहक र आम सर्वसाधारणलाई बैंकिङ्ग सेवा कम समयमै छिटो छरितो तरिकाबाट घरमै बसेर पनि सेवा लिन पाउने सहजताका लागि यो कार्यक्रम अभियानकै रुपमा संचालन गरिएकोे इटहरी शाखा प्रमुख विनोद कार्कीले जानकारी दिए ।डिजिटल बैकिङ्ग सम्बन्धि वित्तीय साक्षरता कार्यक्रममा प्रशिक्षकको रुपमा बैंककी संचालन प्रमुख कमला ओझा, र वेनर्जन ढुंगाना रहेको कार्कीले जानकारी दिए ।


