इटहरी । सुनसरीको इटहरीस्थित सीबी कलेज तथा सीबी रेसिडेन्सियल सेकेन्डरी स्कुलले ’ठूला सपना देखौँ, अझ धेरै उपलब्धि हासिल गरौँ’ भन्ने सन्देशका साथ दीक्षान्त समारोह–२०८३ सम्पन्न गरेको छ ।
दुर्गा पार्टी प्यालेसमा कलेज व्यवस्थापन समिति अध्यक्ष देशबन्धु कार्कीको अध्यक्षतामा सम्पन्न समारोहमा कक्षा १२ ब्याच २०८२ को परीक्षामा ए प्लस ल्याउने विद्यार्थी र तिनका अभिभावकलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो। समारोहमा साइन्स फ्याकल्टीका नङ्सल तामाङ, सायरा कुँवर, पुजन निरौला र संस्कृति ताम्रभण्डेल तथा होटल म्यानेजमेन्ट फ्याकल्टीका रेशु खड्का, तारा कोइराला, उत्सव कोइराला र योगेन्द्र खतिवडा सम्मानित हुनुभयो ।
होटल म्यानेजमेन्ट टपर रेशु खड्कालाई विशेष सम्मान तथा ब्याच २०८२ का सन्देश सुवेदीलाई ’बेस्ट स्टुडेन्ट अफ द ब्याच’ प्रदान गरिएको हो । कलेजका प्राचार्य खेमराज बास्तोलाले उच्च शिक्षाको यात्रामा रहेका विद्यार्थीको हौसला बढाउन र जीवनोपयोगी सीप सिकाउन समारोह आयोजना गरिएको बताउनुभयो । अध्यक्ष देशबन्धु कार्कीले संस्कार र अनुशासन सहितको शिक्षा प्रदान गर्नु मुख्य उद्देश्य रहेको उल्लेख गर्दै विद्यार्थीलाई शुभकामना दिनुभयो ।
कार्यक्रममा भाइस प्रिन्सिपल श्याम केसी, कृष्णप्रसाद काफ्ले तथा सञ्चालक सदस्यहरू देवका पौडेल, उर्मिला घिमिरे र आशिष खनालको उपस्थिति रहेको थियो। विद्यार्थी, अभिभावक र शिक्षकहरूको उत्साहजनक सहभागितामा कार्यक्रम सम्पन्न भएको थियो।


