इटहरी । तरहरा जेसीज वर्ष २०२६ को आयोजनामा सञ्चालन भएको सप्ताहव्यापी कार्यक्रम ‘जेसीज सप्ताह–२०२६’ विभिन्न रचनात्मक तथा सामाजिक गतिविधि सहित सम्पन्न भएको छ । 

२०८३ साल कार्तिक १५ गते उद्घाटन गरिएको सप्ताहव्यापी कार्यक्रमको अन्तिम दिन आज सगरमाथा खेल मैदानमा लोकनृत्य प्रतियोगिता तथा औपचारिक समापन समारोह आयोजना गरिएको थियो। कार्यक्रममा इटहरी उपमहानगरपालिका वडा नम्बर २० का वडाध्यक्ष मणिराम श्रेष्ठ प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। सप्ताहव्यापी रूपमा सञ्चालन गरिएका विभिन्न प्रतियोगिता तथा गतिविधिमा उत्कृष्ट स्थान हासिल गर्ने सहभागीहरूलाई समापन समारोहमा पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो। समापन समारोहको मुख्य आकर्षणका रूपमा विभिन्न जातजाति, संस्कृति र भेषभूषा झल्किने लोकनृत्य प्रस्तुत गरिएको थियो।

सहभागीहरूले आ–आफ्नो मौलिक भेषभूषामा सजिएर सांस्कृतिक नृत्य प्रस्तुत गर्दा कार्यक्रमस्थल सांस्कृतिक रौनकताले भरिएको थियो। तरहरा जेसीजले युवाहरूमा अन्तरनिहित प्रतिभा र क्षमताको उजागर गर्दै सामाजिक क्षेत्रमा सकारात्मक योगदान पु¥याउने उद्देश्यले सप्ताहव्यापी कार्यक्रम आयोजना गरेको हो। तरहरा जेसीजका अध्यक्ष जेसी मिलन गुरुङले सप्ताहव्यापी कार्यक्रम सफल बनाउन सहयोग गर्ने मूल संयोजक, विभिन्न कार्यक्रमका संयोजक, प्रायोजक, सहयोगी, शुभेच्छुक, जेसी परिवार तथा स्थानीयवासीप्रति आभार व्यक्त गर्नुभएको छ।

त्यसैगरी, कार्यक्रमका मूल संयोजक सरोज खड्काले सप्ताहभरि सञ्चालन भएका रचनात्मक तथा सामाजिक गतिविधिहरू सफल बनाउन सहयोग गर्ने अतिथि, सहभागी तथा स्थानीयवासी सबैलाई धन्यवाद व्यक्त गर्नुभएको छ। महासचिव मदन बस्नेतका अनुसार सप्ताहव्यापी कार्यक्रमले युवाहरूको नेतृत्व क्षमता, सामाजिक उत्तरदायित्व, प्रतिभा र सांस्कृतिक पहिचानलाई प्रोत्साहन गर्ने उद्देश्य पूरा गर्न महत्वपूर्ण योगदान पु¥याएको छ ।