इटहरी। सडक, पुल तथा अन्य पूर्वाधार विकासको कामलाई गति दिने उद्देश्यले पाँचथरको फिदिममा पूर्वाधार डिभिजन कार्यालय स्थापना गरिएको छ ।

पाँचथर, तेह्रथुम र ताप्लेजुङलाई कार्यक्षेत्र तोकिएको कार्यालयले तीन जिल्लाको पूर्वाधार निर्माण तथा विकासको काम हेर्ने जनाइएको छ । जिल्ला समन्वय समितिको कार्यालय परिसरमा स्थापना गरिएको डिभिजन कार्यालयको फिदिम नगरपालिका प्रमुख मित्रप्रसाद काफ्ले र प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले उदघाटन गर्नुभयो । मन्त्रीपरिषद्को असोज १३ गतेको निर्णयअनुसार फिदिममा कार्यालय स्थापना गरिएको डिभिजन प्रमुख रामआशिष साहले जानकारी दिनुभयो । डिभिजन कार्यालयले पर्यटन प्रवर्धन गर्ने मार्ग, स्थानीय तह तथा वडा केन्द्र जोड्ने सडक निर्माण र पक्की तथा झोलुङ्गे पुल निर्माणको काम गर्नेछ । 

स्थानीय तहको पहुँच र कार्यक्षमताभन्दा बाहिर रहेका पूर्वाधार निर्माणमा समेत कार्यालयले सहजीकरण गर्ने अपेक्षा गरिएको छ । देशभर सातै प्रदेशमा रहेका पूर्वाधार सुपरीवेक्षण तथा अनुगमन कार्यालयको मातहतमा २१ वटा डिभिजन कार्यालय स्थापना गर्ने योजनाअनुसार कोशी प्रदेशमा पाँचथर पहिलो भएको बताइएको छ । कोशी प्रदेशमा पाँचथरसहित इलाम, धनकुटा र ओखलढुङ्गामा डिभिजन कार्यालय स्थापना गरिनेछ । इटहरीमा पूर्वाधार सुपरीवेक्षण तथा अनुगमन कार्यालय रहनेछ । निर्धारित कार्यविभाजनअनुसार इलाम डिभिजनले झापा, धनकुटाले भोजपुर र सङ्खुवासभा तथा ओखलढुङ्गाले खोटाङ र सोलुखुम्बु हेर्नेछन् । इटहरीस्थित सुपरीवेक्षण कार्यालयले सुनसरी, मोरङ र उदयपुरसमेत हेर्ने व्यवस्था गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी दाहालले स्थानीय तहको पहुँचबाहिर रहेका सडक तथा पुल निर्माणको काममा डिभिजन कार्यालयले सहजीकरण गर्ने विश्वास व्यक्त गर्नुभयो । नगरप्रमुख काफ्लेले सङ्घीय सरकारले गर्ने अधिकांश पूर्वाधार विकासको कामलाई सम्बोधन गर्ने कार्यालय स्थापना हुनु जिल्लावासीका लागि खुसीको विषय भएको बताउनुभयो । यसले स्थानीय तहलाई विकास निर्माणको काममा थप सहयोग पुग्ने उहाँको अपेक्षा छ । पाँचथरमा बाढीपहिरोका कारण सडक तथा पुलमा वर्षेनी ठुलो क्षति हुनेगरेको छ । यसले ग्रामीण क्षेत्रको आवागमन प्रभावित पार्नुका साथै विकास निर्माणको काममा समेत अवरोध पु¥याउँदै आएको छ । यस्तो अवस्थामा पूर्वाधार विकास डिभिजन कार्यालय स्थापनाले क्षतिग्रस्त संरचनाको पुनर्निर्माण र नयाँ पूर्वाधार विकासमा सहयोग पुग्ने जिल्लाका सरोकारवालाको अपेक्षा छ ।