इटहरी स्  कुनै समय बाल्यकालमै विवाह गरिदिने परम्परा रहेको सुनसरीको मरिक समुदायमा पछिल्लो समय उल्लेख्य परिवर्तन देखिन थालेको छ। शिक्षा र जनचेतनाको विस्तारसँगै समुदायका मानिस बालविवाहजस्ता सामाजिक कुरीतिविरुद्ध सचेत बन्दै गएका छन्। अहिले मरिक समुदायमा पनि विवाहको उमेर बढेर १९–२० वर्षसम्म पुगेको छ।

सुनसरीको हरिनगर गाउँपालिका–२ का भट्टाई मरिक र कोसी गाउँपालिका–६ की अमिरिका मरिकको विवाह करिब ४० वर्षअघि ७–८ वर्षकै उमेरमा भएको थियो। सानै उमेरमा विवाह भए पनि उनीहरूले पारिवारिक जीवन अघि बढाउँदै आएका छन्। उनीहरूको वैवाहिक जीवनले मरिक समुदायमा विगतमा बालविवाहको अवस्था कस्तो थियो भन्ने चित्र प्रस्तुत गर्छ। भट्टाईका अनुसार मरिक समुदायमा परम्परादेखि नै सानै उमेरमा विवाह गरिदिने चलन थियो। बाल्यकालमै विवाह गरिदिने प्रचलन रहे पनि पछिल्लो समय त्यसमा परिवर्तन आएको छ। अहिले समुदायका युवायुवतीले १९–२० वर्षको उमेरपछि मात्रै विवाह गर्न थालेका छन्।

शिक्षा र चेतनाको विकाससँगै मरिक समुदायका मानिस पनि सामाजिक विषयमा सचेत हुँदै गएको भट्टाई बताउँछन्। उनका अनुसार बालविवाह गर्ने प्रवृत्तिमा विगतको तुलनामा कमी आए पनि दाइजो प्रथा भने अझै पूर्ण रूपमा हट्न सकेको छैन। कम उमेरमा विवाह गर्दा शिक्षा, स्वास्थ्य, पारिवारिक जीवन र भविष्यमा समेत नकारात्मक असर पर्ने भएकाले बालविवाह अन्त्य हुनुपर्ने अमिरिका मरिकको भनाइ छ। सामाजिक कुरीति हटाउन परिवार र समुदायबाटै पहल आवश्यक रहेको उनले बताइन्। बालविवाह र दाइजो प्रथाजस्ता कुरीति न्यूनीकरणका लागि मरिक समुदायभित्रै पनि आवाज उठ्न थालेको छ। स्थानीयस्तरमा हुने छलफल र जनचेतनामूलक गतिविधिले पुराना सामाजिक मान्यता परिवर्तन गर्न सहयोग पुर्‍याउँदै आएको छ।

सामाजिक कुरीति, अन्धविश्वास र विभेद अन्त्यका लागि परिवार, समुदाय, स्थानीय तह तथा सामाजिक सङ्घसंस्थाले संयुक्त रूपमा अभियान सञ्चालन गर्नुपर्ने देखिन्छ। शिक्षा र चेतनाको विस्तारसँगै सुरु भएको परिवर्तनलाई निरन्तरता दिन सके मरिक समुदायमा मात्र नभई समग्र समाजमा समानता, सामाजिक न्याय र सभ्य सामाजिक संस्कारको विकासमा योगदान पुग्ने अपेक्षा गर्न सकिन्छ।