इटहरी र सुनसरी प्रहरीले लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ ।

विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय इटहरी, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रदेश अनुसन्धान टोली (पीआईटी) तथा सामुदायिक प्रहरी बिट हलगडाबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले इटहरी उपमहानगरपालिका–४, हलगडाबाट एक जनालाई पक्राउ गरेको हो । सामुदायिक अस्पताल पछाडिको बाटोमा पैदल हिँडिरहेका सिरहा गोलबजार नगरपालिका–६ घर भई हाल इटहरी–४ बस्दै आएका २० वर्षीय अबिनाश रौनियार साहको शरीर खानतलासी गर्दा ब्राउन सुगर जस्तो देखिने २ ग्राम ५० मिलिग्राम पदार्थ बरामद भएको प्रहरीले जनाएको छ । उनलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय इटहरीमा थप अनुसन्धान भइरहेको छ ।

यसैगरी, बराहक्षेत्र नगरपालिका–३, नडाहास्थित एक घरमा लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले तीन जनालाई नियन्त्रणमा लिएको छ । लक्ष्मण थिङको कोठामा खानतलासी गर्दा ट्रामाडोल १०० क्याप्सुल र स्पास्पेन ११० ट्याब्लेट बरामद भएको प्रहरीले जनाएको छ । घटनामा बराहक्षेत्र–३ का २७ वर्षीय लक्ष्मण थिङ, २२ वर्षीय राकेश काफ्ले र २३ वर्षीय रबिन कार्कीलाई पक्राउ गरिएको छ । उनीहरूलाई बरामद लागूऔषधसहित नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।