इटहरी। इलामको सूर्योदय नगरपालिकामा भूमि प्रशासन तथा मालपोत सेवा सुरु भएको छ ।
नगरपालिकामै सेवा सञ्चालनमा आएसँगै सूर्योदय क्षेत्रका नागरिकले जग्गा सम्बन्धी सेवा लिन अब सदरमुकाम इलाम बजार धाउनुपर्ने बाध्यता हटेको हो ।सूर्योदय नगरपालिकाको कार्यालयमा मंगलबारदेखि सुरु भएको भूमि प्रशासन तथा मालपोत सेवाको उद्घाटन इलाम क्षेत्र नं। १ का प्रतिनिधिसभा सदस्य निष्कल राई र नगरपालिकाका कार्यवाहक नगर प्रमुख दुर्गाकुमार बरालले संयुक्त रूपमा गर्नुभयो ।
नयाँ कार्यालयमा भूमि प्रशासन अधिकृतको नेतृत्वमा ६ जना र नापी अधिकृतको नेतृत्वमा तीन जना कर्मचारी रहने व्यवस्था गरिएको छ । कार्यक्रममा सांसद राईले स्थानीय तहमै भूमि प्रशासन तथा मालपोत सेवा उपलब्ध हुनु महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो । उहाँले सेवा लिन सदरमुकाम पुग्नुपर्ने बाध्यता हट्दा नागरिकको समय र खर्च बचत हुने बताउँदै यसले फिक्कल क्षेत्रको आर्थिक तथा भौतिक विकासमा समेत सकारात्मक योगदान पु¥याउने उल्लेख गर्नुभयो ।
सूर्योदयमा भूमि प्रशासन तथा मालपोत सेवा सुरु भएपछि नगरबासीले जग्गा नामसारीलगायत भूमि तथा मालपोतसम्बन्धी सेवा स्थानीय तहमै प्राप्त गर्ने भएका छन् । यसबाट विशेषगरी सदरमुकामसम्म पुग्नुपर्ने बाध्यता हट्नुका साथै नागरिकको समय, यातायात खर्च र झन्झटसमेत कम हुने अपेक्षा गरिएको छ । यसअघि जिल्लाको चुलाचुली गाँउपालिकाले समेत पालिकाबाटै सेवा दिन सुरु गरिसकेको छ ।


