इटहरी। फूलखेती तथा पुष्प व्यवसायको प्रवद्र्धन, स्थानीय उत्पादनको बजारीकरण र व्यावसायिक सम्भावना उजागर गर्ने उद्देश्यले इलाममा पहिलोपटक आजदेखि प्रथम गोदावरी प्रदर्शनी मेला–२०८३ आयोजना हुने भएको छ । 

फ्लोरिकल्चर एसोसिएसन नेपाल, इलामको आयोजनामा कात्तिक १८ देखि २१ गतेसम्म इलाम नगरपालिका–७ स्थित चोक बजार नजिकै प्रदर्शनी मेला सञ्चालन हुन लागेको हो । मेलामा ३० वटा स्टल रहने छन् भने प्रदर्शनीमा तीन सय देखि चार सय फूलका जातहरु प्रदर्शन गरिनेछ । फ्लोरिकल्चर एसोसिएसन इलामकी अध्यक्ष रन्जिता जिमी याक्खाका अनुसार मेलामा विभिन्न प्रजातिका गोदावरी फूल तथा अन्य पुष्पजन्य बिरुवाको प्रदर्शनीसँगै फूलखेती सम्बन्धी उत्पादनको बिक्रीसमेत गरिनेछ ।

स्थानीय फूलखेती व्यवसायी तथा कृषकले उत्पादन गरेका फूल तथा बिरुवालाई प्रत्यक्ष रूपमा उपभोक्ता र सम्भावित खरिदकर्तासम्म पु¥याउने उद्देश्यले मेला आयोजना गरिएको उहाँले बताउनुभयो । पछिल्लो समय इलाम चिया र अलैंचीसँगै फूलखेतीका लागि समेत परिचित बन्दै गएको छ । जिल्लाका विभिन्न क्षेत्रमा व्यावसायिक रूपमा फूलखेती विस्तार हुँदै गए पनि उत्पादित फूलको बजार विस्तार, प्रचारप्रसार र उपभोक्तासम्म प्रत्यक्ष पहुँच पु¥याउन अझै चुनौती रहेको व्यवसायीहरूको भनाइ छ । यस्तो अवस्थामा प्रदर्शनीले स्थानीय उत्पादनको बजारीकरण र पुष्प व्यवसायको विस्तारमा सहयोग पुग्ने आयोजकको अपेक्षा गरिएको छ ।

फूल तथा पुष्पजन्य उत्पादनको प्रदर्शनी र बिक्रीमा मात्रै सीमित नभई मेलाले स्थानीय कृषि उत्पादनलाई पर्यटनसँग जोड्नसमेत सहयोग पु¥याउने विश्वास आयोजकको रहेको छ । इलाम भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई स्थानीय फूलखेती र पुष्प व्यवसायबारे जानकारी गराउन मेला प्रभावकारी माध्यम बन्ने समेत आयोजकको भनाइ छ । 

चार दिनसम्म सञ्चालन हुने मेलामा जिल्लाभित्र तथा बाहिरबाट आउने आगन्तुकका कारण स्थानीय व्यापार, होटल, यातायातलगायत क्षेत्रमा समेत आर्थिक गतिविधि बढ्ने अपेक्षा गरिएको छ । मेला फूलखेती व्यवसायी, कृषक, उपभोक्ता, पर्यटन व्यवसायी तथा सर्वसाधारणबिच भेटघाट, अनुभव आदानप्रदान र व्यावसायिक सम्बन्ध विस्तार गर्ने साझा थलो बन्ने आयोजकले जनाएको छ । अध्यक्ष याक्खाले फूलखेती तथा पुष्प व्यवसायको सम्भावना उजागर गर्दै स्थानीय उत्पादनको प्रवद्र्धन र बजारीकरणमा टेवा पु¥याउने लक्ष्यसहित आयोजना गरिएको मेलामा सहभागी हुन कृषक, व्यवसायी, उपभोक्ता तथा सर्वसाधारणलाई आग्रह समेत गर्नुभएको छ ।