इटहरी । मोरङको कानेपोखरी गाउँपालिका–६ मा आयोजित जिल्लास्तरीय प्रथम वडाध्यक्ष कप–२०८३ तेक्वान्दो प्रतियोगिताको उपाधि उर्लाबारीको सुनझोडा डोजाङले जितेको छ ।
मोरङ जिल्ला सी.एच.आई.टी.एफ. तेक्वान्दो संघको आयोजना तथा कानेपोखरी गाउँपालिका वडा नम्बर ६ को सहयोगमा जनसेवा माध्यमिक विद्यालयमा कार्तिक १३ र १४ गते सञ्चालित प्रतियोगितामा १४ स्वर्ण पदक जित्दै सुनझोडा डोजाङ च्याम्पियन बनेको हो। प्रतियोगितामा ६ स्वर्ण पदक सहित सिरुझार डोजाङ प्रथम उपविजेता तथा ४ स्वर्ण पदकसहित कानेपोखरीको दलेली डोजाङ दोस्रो उपविजेता बनेका छन्। प्रतियोगितामा महिला तर्फ रमाइलो डोजाङकी प्रमिला भुजेल र पुरुषतर्फ सुजल भुजेल उत्कृष्ट खेलाडी घोषित भए ।
प्रतियोगिताका विजेता, उपविजेता तथा तेस्रो हुने डोजाङलाई क्रमशः १० हजार, ८ हजार र ५ हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ। पुरस्कार वितरण समारोहका प्रमुख अतिथि कानेपोखरी गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष खड्गबहादुर बस्नेतले प्रतियोगिताले स्थानीय स्तरमा तेक्वान्दो खेलको विकास, खेलाडीको प्रतिभा पहिचान र खेलकुदप्रतिको आकर्षण बढाउन महत्वपूर्ण योगदान पु¥याएको बताउनुभयो।
मोरङ जिल्ला तेक्वान्दो संघका अध्यक्ष विद्यानन्द चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सी.एच.आई.टी.एफ. तेक्वान्दो संघकी केन्द्रीय उपाध्यक्ष तथा मुख्य निर्णायक आशा श्रेष्ठ, कोशी प्रदेश अध्यक्ष तथा प्रमुख प्रशिक्षक युवराज भुजेल, प्रदेश सचिव दिनेश सुब्बा लगायत विभिन्न पदाधिकारी, जनप्रतिनिधि तथा खेलप्रेमीहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा खेलाडीहरूले तेक्वान्दो खेलको प्रदर्शन गर्नुका साथै जेनिथ स्कुलका विद्यार्थीहरूले सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए ।


