इटहरी। सुनसरीको वराहक्षेत्रमा फूल खेती गर्ने किसानको आकर्षण बढ्दै गएको छ । तिहारलाई लक्षित गरी वराहक्षेत्र नगरपालिका–६ र २ मा गरिएको फूल खेतीबाट स्थानीय किसान र कृषिक्षेत्रमा आबद्ध संस्थाले फूल खेती गर्दै आएका छन् ।
वराहक्षेत्र नगरपालिका–६ का युवा कृषक अर्जुन विष्टले यस वर्ष पाँच कट्ठाभन्दा बढी क्षेत्रफलमा टेबलटेनिस जातको सयपत्री फूल खेती गर्नुभएको छ । विगत पाँच वर्षदेखि तिहारलाई लक्षित गरी फूल खेती गर्दै आउनुभएका विष्टले यस वर्ष उत्पादन राम्रो भएकाले दुई लाख रुपियाँभन्दा बढीको फूल बिक्री गर्ने लक्ष्य रहेको बताउनुभयो । बिरुवाको जात र खेती गर्ने तरिका परिवर्तन गरेकाले यस वर्ष उत्पादनमा सुधार आएको उहाँले बताउनुभयो । बुटवलस्थित एग्रो कम्पनीबाट बिरुवा ल्याएर खेती गरेको विष्टले भनाइ छ ।
गत वर्ष तिहार आउन केही समय बाँकी रहँदा परेको ठुलो वर्षाका कारण फूल खेतीमा क्षति पुगेको थियो । यस वर्ष पनि पाँच कट्ठाभन्दा बढी क्षेत्रफलमा लगाइएको फूल ‘अर्णव’ चक्रवातको प्रभावले अधिकांश फूलको बोट ढलेकोे विष्टले बताउनुभयो । केही फूल मात्रै जोगिएको छ । उहाँका अनुसार दुई लाखभन्दा बढीकोे फूल बिक्री गर्न सकिन्छ कि भन्ने लागेको छ । गत वर्ष फूल प्रतिकिलो सात सय रुपियाँसम्ममा बिक्री भएको उहाँले बताउनुभयो ।
यस वर्ष उत्पादन राम्रो भए पनि तिहार केही ढिलो परेकाले फूलको माग र बिक्रीमा असर परेको उहाँको भनाइ छ । हाल सयपत्री फूल प्रतिकिलो चार सयदेखि पाँच सय रुपियाँसम्ममा बिक्री भइरहेको विष्टले बताउनुभयो । उत्पादित फूल बिक्रीका लागि बजारसम्म पु(याउनुपर्ने झन्झटसमेत नभएको विष्ट बताउनुहुन्छ । वराहक्षेत्र–६, ७ र ८ का स्थानीय बासिन्दा फूल खरिद गर्न खेतमै आउने गरेका छन । धरान र इटहरीबाट समेत ग्राहक फूल लिन आउने गरेको उहाँले बताउनुभयो । खेतबाटै फूल खरिद गर्ने ग्राहकलाई बजार मूल्यभन्दा थोरै सस्तोमा बिक्री गर्ने गरेको छु । व्यावसायिक रूपमा फूल खेती गर्न सके राम्रो आम्दानी लिन सकिने भए पनि स्वदेशी उत्पादनले उचित बजार पाउन आयातित फूलको नियमन आवश्यक रहेको विष्टले बताउनुभयो । भारतबाट आयात हुने फूलको क्वारेन्टाइन जाँच तथा गुणस्तर परीक्षणमा कडाइ गर्नुपर्ने उहाँ बताउनुहुन्छ । आयातित फूल शीतभण्डारमा राखेर पछि नेपाली बजारमा बिक्रीका लागि पठाउँदा स्वदेशी किसानले उचित मूल्य पाउन समस्या हुने गरेको उहाँको भनाइ छ ।
वराहक्षेत्र नगरपालिका–२, जब्दीस्थित प्रेसिडेन्ट एग्रोटेक प्रालिले पनि यस वर्षदेखि करिब साढे तीन कट्ठा क्षेत्रफलमा सयपत्री फूल खेती सुरु गरेको छ । स्थानीय बजारलाई लक्षित गरी गरिएको खेतीमा फूल राम्रोसँग फस्टाएको कम्पनीका कर्मचारी कुशल दाहालले बताउनुभयो । स्वदेशी फूलको उत्पादन र प्रयोग बढाउन सके स्थानीय किसानको आम्दानीमा वृद्धि हुनुका साथै स्थानीय स्तरमै रोजगारी र आयआर्जन समेत बढ्ने छ ।
प्रविधिको प्रयोगबाट मल उत्पादन
कृषि उत्पादनमा रासायनिक मलको प्रयोग घटाउँदै माटोको उर्वराशक्ति कायम राख्न सुनसरीको वराहक्षेत्रमा अन्तर्राष्ट्रिय प्रविधिबाट प्राङ्गारिक कम्पोस्ट मल उत्पादन सुरु गरिएको छ । वराहक्षेत्र नगरपालिका–२, जब्दीस्थित प्रेसिडेन्ट एग्रो टेक प्रालिले अस्ट्रेलिया, ताइवान र चीनमा पेटेन्ट गरिएको प्रविधि प्रयोग गरी गोठको कम्पोस्ट मल उत्पादन गर्दै आएको छ । करिब २० करोड रुपियाँ लगानीमा स्थापना भएको कम्पनीले हाल परीक्षण र बजारको सम्भाव्यता अध्ययनका लागि दैनिक एक टन मल उत्पादन गरिरहेको जनाएको छ । उद्योगको दैनिक उत्पादन क्षमता तीन टन रहे पनि उत्पादनको गुणस्तर र बजारको मागबारे अध्ययनपछि उत्पादन विस्तार गर्ने तयारी रहेको कम्पनीका प्रमुख शम्भुबाबु कोइरालाले बताउनुभयो ।
कोइरालाका अनुसार परम्परागत रूपमा जैविक पदार्थ कुहाएर मल बनाउने प्रक्रियालाई वैज्ञानिक र नियन्त्रित प्रविधिमार्फत छिटो र गुणस्तरीय बनाइएको छ । मल तयार गर्दा आवश्यक कच्चा पदार्थको मात्रा, चिस्यान, तापव्रmम र पोषक तìवको अनुपात नियन्त्रण गरिन्छ । करिब चार घण्टाको प्रक्रियाबाट मल तयार हुने कम्पनीले जनाएको छ । सन २०१९ मा स्थापना भएको प्रेसिडेन्ट एग्रो टेक प्रालिले सन् २०२५ फ्रेबुअरीदेखि मलको व्यावसायिक उत्पादन सुरु गरेको बताइएको छ । कम्पनीको आफ्नै १० बिघा जमिन रहेको छ । मल उत्पादन गर्ने कारखानामा आठ जनाले काम गर्दै आएका छन् भने खेती तथा अनुसन्धानसहित कम्पनीमा १३ जना पूर्णकालीन कर्मचारी कार्यरत रहेको उहाँले बताउनुभयो । मल उत्पादनसँगै कम्पनीले कृषि खेती र अनुसन्धानलाई समेत सँगै अघि बढाएको जनाएको छ ।


