इटहरी। सुनसरीको इटहरी उपमहानगरपालिका ८ गैसारस्थित ९डेरा० कोठाबाट प्रहरीले ठुलो परिमाणमा लागुऔषध बरामद गरेको छ ।

लागुऔषध कारोबार भइरहेको सूचनाका आधारमा प्रहरीले खानतलासी गर्दा पाँच हजार २७० क्याप्सुल ट्रामोल र पाँच हजार ५१० ट्याब्लेट डाइसाइक्लोमिन बरामद गरेको हो । इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले बुधबार राति ९ बजे इटहरी–८ गैसारस्थित अभिषेक चौधरीको कोठामा खानतलासी गरेको थियो । सो क्रममा कोठाभित्र लुकाइछिपाइ राखिएको अवस्थामा उक्त लागुऔषध फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीले लागुऔषध कारोबार गरेको आरोपमा इटहरी–८ का १८ वर्षीय अभिषेक चौधरी, १८ वर्षीय युगल सुन्दास र १५ वर्षीय रोहित चौधरीलाई पक्राउ गरेको छ । बरामद लागुऔषधसहित तीनै जनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय इटहरीमा राखी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।