इटहरी स् कोशी प्रदेशका तीन जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । मोरङको विराटनगरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको ज्यान गएको छ भने झापाको दमकमा बसको ठक्कर र उदयपुरको बेलकामा बोलेरोको ठक्करबाट थप दुई जनाको मृत्यु भएको हो ।
विराटनगर महानगरपालिका–१० मा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा चालक २४ वर्षीय अंकित पोखरेलको मृत्यु भएको छ । बिहीबार बिहानका राति निर्मल जलबाट जतुवातर्फ जाँदै गरेको प्रदेश १–०४–००१ प ३३७७ नम्बरको पल्सर मोटरसाइकल दुर्घटनामा परेको थियो । टाउको र नाकमा चोट लागेका पोखरेललाई विराट नर्सिङ होम पुर्याइएको थियो । उपचारका क्रममा बिहानका राति १ः१० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । प्रारम्भिक अनुसन्धानबाट तीव्र गतिका कारण मोटरसाइकल अनियन्त्रित भएको देखिएको प्रहरीले जनाएको छ ।
त्यस्तै, झापाको दमक नगरपालिका–५ स्थित बजाज सोरुमअगाडि पूर्व–पश्चिम राजमार्गमा बसको ठक्करबाट मोटरसाइकल चालक ५३–५४ वर्षीय मंगलप्रसाद साउदेनको मृत्यु भएको छ । पाँचथरको मेमेङ घर भई हाल मोरङको लेटाङ नगरपालिका–८ बस्दै आएका साउदेनलाई लेटाङबाट दमकतर्फ जाँदै गर्दा पश्चिमबाट पूर्वतर्फ गइरहेको प्रदेश १–०१–००१ ख ४२९२ नम्बरको बसले ठक्कर दिएको थियो । प्रदेश १–०२–०५३ प ७४३९ नम्बरको मोटरसाइकलमा सवार साउदेन छातीमा चोट लागेर घाइते भएका थिए । दमकस्थित निम्स अस्पतालमा प्रारम्भिक उपचारपछि उनलाई थप उपचारका लागि मोरङ रेफर गरिएको थियो । आफन्तले विराट टिचिङ अस्पताल पुर्याएका उनलाई उपचारकै क्रममा साँझ ६ः५५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए । घटनाका बारेमा अस्पतालले राति १० बजेतिर इलाका प्रहरी कार्यालय दमकलाई जानकारी गराएको थियो ।
यसैबीच, उदयपुरको बेलका नगरपालिका–९ झण्डा चोकमा बोलेरोको ठक्करबाट स्थानीय ५६ वर्षीया लक्ष्मीमाया राईको मृत्यु भएको छ । रामपुरबाट चतरातर्फ जाँदै गरेको प्रदेश १–०५–००१ ज ००२२ नम्बरको बोलेरोले बुधबार बिहान उनलाई ठक्कर दिएको थियो । ठक्कर दिएर चालक फरार भएका थिए । घाइते राईलाई रामपुरस्थित नगर अस्पतालमा सामान्य उपचार गराइएको थियो । त्यसपछि छोरी वर्षा राईले थप उपचारका लागि उनलाई मोरङको विराट टिचिङ अस्पताल लगेकी थिइन् । गम्भीर घाइते राईको उपचारका क्रममा बिहान ८ः०९ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनापछि फरार भएका चालकले बोलेरो बेलका नगरपालिका–८ को लेम्लेमा लुकाएर राखेको अवस्थामा प्रहरीले फेला पारेको थियो । भोजपुरको आमचोक गाउँपालिका–१ वासिङ घर भएका चालक ३७ वर्षीय प्रेम विश्वकर्मा इलाका प्रहरी कार्यालय इटहरीको सम्पर्कमा आएपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो । उनलाई बुधबार साँझ ७ः०५ बजेतिर इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला पुर्याइएको प्रहरीले जनाएको छ । तीनवटै घटना सवारीसाधनको तीव्र गतिका कारण भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ । इटहरीको सम्पर्कमा आएपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो । उनलाई बुधबार साँझ ७ः०५ बजेतिर इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला पुर्याइएको प्रहरीले जनाएको छ । तीनवटै घटना सवारीसाधनको तीव्र गतिका कारण भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।

