इटहरी स् अरूलाई उद्यमको सीप सिकाउँदै सात वर्ष बिताएका सुनसरीको इटहरी ४ निवासी पुष्पलाल राईको आफ्नै घरमा एउटा प्रश्न उभियो—विदेश जान चाहिरहेका छोराछोरीलाई स्वदेशमै भविष्यको आधार कसरी दिनेरु त्यसको उत्तर उनले वर्षौँको जागिरे जीवनमा आर्जन गरेको ज्ञान, घरमा उपलब्ध श्रम र स्थानीय फलफूलमा खोजे। खाद्य प्रविधिको विज्ञतालाई पारिवारिक उद्यमसँग जोड्ने त्यही प्रयास अहिले ‘पूर्वेली तितौरा’का रूपमा बजारमा पुगेको छ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, कोशी प्रदेशको प्रमुखको जिम्मेवारीमा रहेका राईले यसअघि काठमाडौँस्थित विभागको प्रविधि विकाश तथा तालिम महाशाखामा प्रशिक्षकको रूपमा सात वर्ष काम गरेका थिए। त्यस अवधिमा अरूलाई उत्पादन र उद्यमको सीप सिकाउने जिम्मेवारी सम्हालेका उनले आफ्नै परिवारमा पनि त्यो ज्ञान प्रयोग गर्ने आधार भेटे। घरमा बनाउँदै आएको तितौरालाई निश्चित प्रविधिबाट उत्पादन गर्ने, व्यवस्थित रूपमा प्याकेटमा राख्ने र बजारसम्म पुर्याउने सोचसँगै खाँडादेवी फुड इन्डस्ट्रिज अघि बढ्यो। पुष्पलालको अनुभव, श्रीमती मन्दिराको सक्रियता र छोराछोरीको सहभागितामा तयार हुने ‘पूर्वेली तितौरा’ अहिले पूर्वी नेपालका बजार हुँदै अस्ट्रेलिया र हङकङसम्म पुग्ने गरेको छ। उत्पादनको यो यात्रासँग एउटा परिवारले सन्तानका लागि आफ्नै ठाउँमा अवसर खोजेको कथा पनि गाँसिएको छ।
छोरा र छोरी दुवैले विदेश जाने इच्छा देखाउन थालेपछि राई दम्पतीले उनीहरूलाई स्वदेशमै बस्न आग्रह गर्नुसँगै त्यसको आधार पनि दिनुपर्ने आवश्यकता महसुस गरे। विदेश नजान भन्नु जति सजिलो थियो, यहीँ बसेर के गर्ने भन्ने उनीहरूको प्रश्नको उत्तर दिनु त्यति नै आवश्यक थियो। परिवारले त्यसका लागि छोराछोरीलाई आफ्नै उत्पादनमा संलग्न गराउने बाटो रोज्यो। पुष्पलालका अनुसार उद्यम सुरु गर्नुको एउटा उद्देश्य छोराछोरीलाई काम सिकाउनु र उनीहरूले स्वदेशमै आम्दानीको सम्भावना अनुभव गर्न सकुन् भन्ने थियो। उत्पादनले बजार पाउन थालेपछि आफ्नो कामप्रति उनीहरूको आकर्षण बढेको उनको अनुभव छ।
सिभिल इन्जिनियरिङतर्फ ओभरसियर अध्ययन गरेका २१ वर्षीय छोरा नसुम राई अहिले उद्योगको बजारीकरण र आन्तरिक व्यवस्थापनमा संलग्न छन्। कक्षा १२ सकेकी छोरी सुमिना पनि पढाइलाई अगाडि बढाउने योजनासहित पारिवारिक उद्यममा जोडिएकी छिन्। उनीहरूलाई परिवारको काममा सघाउने सदस्यका रूपमा मात्रै राखिएको छैन, जिम्मेवारीसँगै पारिश्रमिकको व्यवस्था पनि गरिएको छ। उद्योगमा काम गर्ने सदस्यको तलब तोकिएको छ भने बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म काम गर्ने समय मिलाइएको छ। आफ्नै परिवारको व्यवसायमा पनि श्रमको मूल्य निर्धारण गर्ने यो अभ्यासले कामलाई नियमित रोजगारीको स्वरूप दिएको छ। पढाइ सकेपछि अवसर खोजिरहेका छोराछोरीका लागि यसले उत्पादन, व्यवस्थापन र ग्राहकसँगको व्यवहार बुझ्ने अवसरसमेत दिएको छ।
उद्योगको उत्पादनतर्फ मन्दिरा सक्रिय छन्। मौसममा फलफूल जुटाउनेदेखि प्रशोधन गरेर फरक स्वादका तितौरा तयार पार्नेसम्मका काममा उनी संलग्न हुन्छिन्। लप्सी, इमली, कागती र अमला लगायतका फलफूलबाट उद्योगले अहिले १२ प्रकार भन्दा धेरै प्रकारका तितौरा बनाउँदै आएको छ भने अकबरे खुर्सानी र कागतीको अचार पनि उत्पादन गर्छ। मन्दिराका अनुसार मासिक करिब तीन सय किलो तितौरा उत्पादन हुने गरेको छ। एक सय ग्रामको प्याकेटमा समेत उपलब्ध तितौरा विशेषगरी किशोरकिशोरीले रुचाउने गरेको उनको अनुभव छ। घरमा खाइने परिकारलाई बिक्रीयोग्य उत्पादन बनाउने क्रममा परिवारले ग्राहकको रोजाइ र बजारको माग पनि बुझ्दै गएको छ।
पूर्वी नेपालका बजार, ठूला किनमेल केन्द्र र किराना पसलमा बिक्री भइरहेको उत्पादन अनलाइनबाट माग लिएरसमेत ग्राहकसम्म पुर्याइन्छ। मन्दिराका अनुसार ‘पूर्वेली तितौरा’ अस्ट्रेलिया र हङकङसम्म पुग्ने गरेको छ, तर मागअनुसार उत्पादन उपलब्ध गराउन सकिएको छैन। बजारमा आफ्नो उत्पादनले ठाउँ पाउनु परिवारका लागि उत्साहको विषय बनेको छ भने त्यसअनुसार उत्पादन बढाउनु अर्को जिम्मेवारी बनेको छ। सात लाख रुपैयाँ लगानीबाट सुरु गरिएको उद्यममा अहिले करिब १५(२० लाख रुपैयाँ लगानी पुगेको मन्दिराले बताइन्। परिवार आधुनिक उपकरण थपेर उत्पादन क्षमता विस्तार गर्ने सोचमा छ। तर, उपकरण थप्नु र उत्पादन बढाउनुसँगै नियमित रूपमा कच्चा पदार्थ जुटाउने आधार पनि चाहिन्छ भन्ने बुझाइले परिवारलाई खेतीतर्फ समेत डोर्याएको छ।
तेह्रथुमको लालीगुराँस नगरपालिकास्थित आफ्नै पाँच रोपनी जग्गामा लप्सी खेती सुरु गरिएको छ। अहिले उद्योगका लागि इलाम, धनकुटा र भोजपुरका बजारबाट प्रतिकिलो करिब ५५ रुपैयाँमा लप्सी खरिद गर्ने गरिएको मन्दिराले जानकारी दिइन्। फलफूलको मौसममा आवश्यक परिमाणमा किनेर भण्डारण गर्ने र त्यसैबाट पछि तितौरा बनाउने गरिएको छ। बजारमा उचित मूल्य पाउन नसक्ने फलफूलको मूल्य प्रशोधनमार्फत बढाउने प्रयास पनि उद्यमसँग जोडिएको छ। काँचो फलका रूपमा बिक्री हुने लप्सी वा अमला प्रशोधनपछि फरक स्वाद र स्वरूपमा ग्राहकसम्म पुग्छन्। त्यसबीचमा लाग्ने सीप, समय र श्रम नै परिवारको आम्दानीको आधार बन्छ।
पुष्पलालका अनुसार खाद्य प्रविधिको ज्ञानले सामग्रीको छनोट, प्रशोधन र निश्चित विधिअनुसार उत्पादन गर्न सहयोग पुर्याएको छ। अरूलाई सिकाउँदा हासिल भएको अनुभव आफ्नै परिवारलाई उत्पादनको प्रक्रिया बुझाउन उपयोगी बनेको उनी बताउँछन्। उनले सिकेको प्राविधिक पक्षलाई मन्दिराले उत्पादनमा उतारिरहेकी छन् भने छोराछोरी त्यसलाई बजार र व्यवस्थापनसँग जोडिरहेका छन्। परिवारका फरक सदस्यको जिम्मेवारी एउटै उत्पादनसँग जोडिँदा घरमा उपलब्ध सीप र श्रमले उद्यमको आकार पाएको छ। यद्यपि, मागअनुसार उत्पादन बढाउने र व्यवसायलाई निरन्तरता दिने चुनौती अझै बाँकी छ। आफ्नै कामले बजार पाउँदाको अनुभव भने परिवारका लागि अर्को कदम चाल्ने आधार बनेको छ।
राई परिवारको अनुभवले छोराछोरीलाई स्वदेशमै बस्न आग्रह गर्दा उनीहरूका लागि काम, जिम्मेवारी र आम्दानीको अवसर पनि सँगै तयार गर्नुपर्ने देखाउँछ। कुनै बेला विदेश जान चाहिरहेका छोराछोरी अहिले आफ्नै घरबाट तयार भएको उत्पादन थप ग्राहकसम्म पुर्याउने काममा जुटेका छन्। पुष्पलालले जागिरे जीवनमा सिकेको सीप घरमा उतार्दा एउटा उद्योगसँगै परिवारका सदस्यले सँगै काम गर्ने र यहीँ भविष्य खोज्ने आधार पनि तयार भयो। अब राई परिवार आफ्नै बारीमा लप्सी हुर्काएर, उद्योगमा उत्पादन बढाएर र ‘पूर्वेली तितौरा’को बजार विस्तार गरेर सन्तानको भविष्य पनि यहीँ बलियो बनाउन चाहन्छ।

