इटहरी स्  मेची करिडोरअन्तर्गत इलामको बेलासे–गोलाखर्क भञ्ज्याङ सडक स्तरोन्नतिको ठेक्का सम्झौता अन्त्य गरिएको छ। निर्धारित समयभन्दा लामो अवधि बितिसक्दा पनि कामले गति लिन नसकेपछि ९।५ किलोमिटर सडक निर्माणको ठेक्का तोडिएको हो।

२७ करोड २२ लाख रुपैयाँ लागतको उक्त आयोजना २०८० पुस २९ गतेभित्र सम्पन्न गर्नुपर्ने थियो। पटक–पटक म्याद थप गर्दा पनि भौतिक प्रगति ४७ प्रतिशतमा सीमित भएपछि इलाम सडक डिभिजनले ठेक्का सम्झौता अन्त्य गरेको हो। पूर्वाधार विकास मन्त्रालयका अनुसार पछिल्लो सात महिनामा निर्माणको प्रगति तीन प्रतिशतभन्दा कम भएपछि ठेक्का तोड्ने निर्णय गरिएको हो। मेची करिडोरको यो खण्ड लामो समयदेखि अलपत्र पर्दा सडक स्तरोन्नतिको काम प्रभावित हुँदै आएको थियो।

इलाम सडक डिभिजनले आर्थिक वर्ष २०८१र८२ देखि हालसम्म १२ वटा ठेक्का सम्झौता अन्त्य गरिसकेको जनाएको छ। यस क्रममा निर्माण व्यवसायीबाट पेस्कीबापतको दुई करोड ३८ लाख रुपैयाँ असुल गरिएको छ। त्यस्तै, ६ करोड ७९ लाख रुपैयाँ बराबर कार्यसम्पादन जमानत जफत गर्न सम्बन्धित बैंकलाई पत्राचार गरिएको छ। ठेक्का तोडिए पनि सडक निर्माणलाई निरन्तरता दिने तयारी गरिएको मन्त्रालयले जनाएको छ। आवश्यक स्रोत सहमति र बहुवर्षीय ठेक्काको स्वीकृति प्राप्त गरी नयाँ ठेक्का प्रक्रिया अघि बढाइने जनाइएको छ।