इटहरी स् झापाको भद्रपुरबाट प्रहरीले कटुवा पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा हल्दिबारी गाउँपालिका–५ घर भई हाल भद्रपुर नगरपालिका–६, वधशालास्थित साजन होटल सञ्चालन गर्दै आएका ४४ वर्षीय मनकुमार लिम्बु छन्। लिम्बुको साथमा हतियार रहेको गोप्य सूचनाका आधारमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले उनको कोठामा खानतलासी गरेको थियो।

खानतलासीका क्रममा लिम्बु सुत्ने खाटमुनि लुकाइछिपाइ राखेको अवस्थामा एक थान कटुवा पेस्तोल फेला परेको प्रहरीले जनाएको छ। प्रहरीले उनलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।