इटहरी स् सुनसरीको दुहबी नगरपालिका–६ स्थित बूढी खोलाको किनारबाट प्रहरीले पाँच क्विन्टलभन्दा बढी गाँजासहित एउटा एम्बुलेन्स नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार राति करिब १२ः३० बजे कोशी राजमार्ग हुँदै इटहरीबाट विराटनगरतर्फ नम्बर नखुलेको एम्बुलेन्समा गाँजा ओसारपसार भइरहेको सूचनाका आधारमा प्रहरीले खोजतलास सुरु गरेको थियो।
खोजतलासका क्रममा इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरी टोलीले बूढी खोलाको किनारमा एम्बुलेन्सलाई बेवारिसे अवस्थामा फेला पारेको थियो। एम्बुलेन्स जाँच गर्दा ५७४ किलो ८७० ग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ। बरामद गाँजा र एम्बुलेन्स नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी चन्द्रबहादुर खड्काले बताए।


