इटहरी । तेह्रथुमको मेन्छ्यायेम गाउँपालिका–२, सिस्ने हातिसारमा श्रीमानले खुकुरी प्रहार गर्दा श्रीमती गम्भीर घाइते भएकी छन् ।
जिल्ला प्रहरी कार्यालय तेह्रथुमका अनुसार असोज ३० गते साँझ करिब ६ बजे अन्दाजी २६ वर्षीय सोमबहादुर विकले आफ्नी २४ वर्षीया श्रीमती कमला विकमाथि खुकुरी प्रहार गरेका हुन् । खुकुरी प्रहारबाट कमलाको घाँटीको पछाडिको भागमा काटिएको छ भने दाहिने हातमा समेत चोट लागेको छ । घाइते उनलाई उपचारका लागि जिल्ला अस्पताल म्याङलुङ लगिएको थियो। घटनाबारे राति करिब ११ बजे स्थानीयबाट टेलिफोनमार्फत जानकारी प्राप्त भएपछि अस्थायी प्रहरी चौकी पौठाकबाट प्रहरी वरिष्ठ हवल्दार हिरा विकको कमान्डमा तीन सदस्यीय प्रहरी टोली घटनास्थलमा खटिएको थियो ।
घटनामा संलग्न भनिएका सोमबहादुरलाई प्रहरीले घटनास्थलबाट खुकुरी सहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय तेह्रथुममा राखेको छ । घटना हुनुको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जानकारी दिएको छ ।


