इटहरी स् सर्पले टोकेपछि समयमै उपचार नपाउँदा र गलत विधि अपनाउँदा ज्यानै जोखिममा पर्ने भएकाले विज्ञहरूले तत्काल अस्पताल पुर्याउन र समुदायस्तरमा जनचेतना विस्तार गर्न जोड दिएका छन् ।
फेयरमेड र सिबिआर विराटनगरले बुधबार सञ्चारकर्मीसँग आयोजना गरेको अन्तरक्रियामा सर्पदंशको जोखिम, लक्षण, सुरक्षित प्राथमिक उपचार र रोकथामका उपायबारे जानकारी दिइएको हो । कार्यक्रममा नेपाल जनस्वास्थ्य संघका महासचिव कैलाश खाकी श्रेष्ठले नेपालमा बर्सेनि करिब २० हजार मानिसलाई सर्पले टोक्ने र करिब एक हजारको मृत्यु हुने अनुमान प्रस्तुत गरे । सर्पदंशबाट हुने मानवीय क्षति कम गर्न सुरक्षित प्राथमिक उपचार, तत्काल अस्पतालसम्मको पहुँच र समुदायमा सचेतना आवश्यक रहेको उनले बताए । विश्व स्वास्थ्य संगठनले सन् २०३० सम्ममा सर्पदंशका कारण हुने मृत्यु र अपाङ्गता ५० प्रतिशतले घटाउने लक्ष्य लिएको छ । त्यसका लागि प्रभावकारी उपचार सेवा, स्वास्थ्य संस्थाको क्षमता अभिवृद्धि र समुदायस्तरमा सचेतना विस्तार आवश्यक रहेको श्रेष्ठले बताए ।
उनका अनुसार तराई क्षेत्रका कृषक, कृषि मजदुर, माछा मार्ने व्यक्ति, सपेरा तथा बालबालिका सर्पदंशको उच्च जोखिममा छन् । खेतबारीमा काम गर्दा, राति हिँड्दा र भुइँमा सुत्दा विशेष सावधानी अपनाउनुपर्ने उनको भनाइ थियो । अन्तरक्रियामा नेपालमा पाइने ८९ प्रजातिका सर्पमध्ये १७ प्रजाति विषालु रहेको जानकारी दिइयो । गोमन, करैत, किङ कोब्रा, कोरल र विभिन्न प्रजातिका भाइपर विषालु सर्पमा पर्ने श्रेष्ठले बताए । उनका अनुसार गोमन र करैतको विषले स्नायु प्रणालीमा असर गरी पक्षघात तथा श्वासप्रश्वासमा समस्या निम्त्याउन सक्छ भने भाइपरको विषले रगत जम्ने प्रक्रियामा असर पुर्याउन सक्छ ।
गलत उपचारले बढाउँछ जोखिम
सर्पदंशपछि धामीझाँक्रीकहाँ लैजाने, टोकेको ठाउँ काट्ने वा चुस्ने, आगोले डाम्ने तथा अप्रमाणित घरेलु उपचार गर्ने प्रवृत्तिले अस्पताल पुग्न ढिलाइ हुने र बिरामीको अवस्था गम्भीर बन्न सक्ने श्रेष्ठले बताए । यस्ता अभ्यासमा समय खर्च नगरी तत्काल सर्पदंश उपचार केन्द्र वा अस्पताल पुर्याउनुपर्नेमा उनले जोड दिए । सर्पले टोकेपछि बिरामीलाई शान्त राख्ने, अनावश्यक हिँडडुल गर्न नदिने र प्रभावित अङ्गलाई काम्रोको सहायताले स्थिर राखेर उपचार केन्द्र लैजानुपर्ने सुझाव दिइएको छ । टोकेको ठाउँमा कसिलो डोरी वा पट्टी बाँध्न नहुने तथा सुन्निन सक्ने भएकाले औँठी, चुरा र अन्य कसिला वस्तु हटाउनुपर्ने सर्पदंश व्यवस्थापन निर्देशिकामा उल्लेख छ ।
फेयरमेडका वरिष्ठ अनुगमन तथा मूल्याङ्कन अधिकृत रुषा उपाध्यायले सर्पदंशबाट हुने क्षति घटाउन समुदायसम्म सही सूचना पुर्याउन आवश्यक रहेको बताइन् । जोखिममा रहेका समुदायलाई रोकथाम, सुरक्षित प्राथमिक उपचार र उपचार केन्द्रको उपलब्धताबारे जानकारी दिन सञ्चारकर्मीको भूमिका महत्त्वपूर्ण हुने उनको भनाइ थियो । सिबिआरका जिल्ला परियोजना संयोजक जेनिश चौधरीले स्थानीय सरकार, स्वास्थ्य संस्था र समुदायबीच समन्वय बढाएर सर्पदंशका बिरामीलाई समयमै उपचारको पहुँचमा पुर्याउनुपर्ने बताइन् । सचेतनासँगै आपत्कालीन यातायात र उपचार केन्द्रसँगको सम्पर्क व्यवस्था प्रभावकारी बनाउनुपर्नेमा उनले जोड दिइन् ।
सावधानी अपनाउन आग्रह
सर्पदंशबाट बच्न खेतबारीमा काम गर्दा बुट र पञ्जा लगाउन, भुइँमा नसुत्न, झुल प्रयोग गर्न, घरवरिपरि सफा राख्न र मुसा नियन्त्रण गर्न आग्रह गरिएको छ । राति हिँड्दा टर्च प्रयोग गर्न तथा सर्प लुकेर बस्न सक्ने ठाउँमा सावधानी अपनाउन पनि सुझाव दिइएको छ । श्रेष्ठले स्थानीय सरकारले सर्पदंश उपचारमा प्रयोग हुने एन्टिभेनम औषधि, आवश्यक उपकरण र प्रशिक्षित स्वास्थ्यकर्मीको उपलब्धता सुनिश्चित गर्नुपर्ने बताए । गम्भीर बिरामीका लागि भेन्टिलेटर तथा सघन उपचार सेवामा पहुँच विस्तार गर्नुका साथै समुदायस्तरमा नियमित जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा उनले जोड दिए ।


