इटहरी स् शारीरिक अशक्तताका कारण जिल्ला प्रशासन कार्यालयसम्म पुग्न नसक्ने नागरिकलाई झापा प्रशासनले घरमै पुगेर नागरिकता वितरण गरेको छ।
बिर्तामोड नगरपालिका–५ को समन्वयमा जिल्ला प्रशासन कार्यालय झापाको टोलीले मंगलबार पूर्ण अपाङ्गता भएका सरोज प्रसाईलाई घरमै पुगेर नागरिकता प्रदान गरेको हो। जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत चुडामणि आपगाईको नेतृत्वमा पुगेको टोलीले प्रसाईलाई नागरिकता प्रदान गरेको थियो। कार्यालयसम्म पुग्न नसक्ने अशक्त नागरिकलाई घरमै सेवा दिने अभियानअन्तर्गत नागरिकता वितरण गरिएको आपगाईले बताए।
उनका अनुसार शारीरिक अशक्तताका कारण सरकारी कार्यालयसम्म पुग्न कठिनाइ भोगिरहेका नागरिकलाई लक्षित गरी यस्तो सेवा सञ्चालन गरिएको हो। यसबाट नागरिकता प्राप्त गर्न कठिनाइ भोगिरहेका सेवाग्राहीलाई सहजता पुगेको उनले बताए। बिर्तामोड–५ मा अशक्त नागरिकलाई घरमै पुगेर नागरिकता वितरण गरिएको यो चौथो कार्यक्रम हो। यसअघि पनि वडा कार्यालय र जिल्ला प्रशासन कार्यालयबीचको समन्वयमा यस्ता कार्यक्रम सञ्चालन गरिएको वडाध्यक्ष रोहित प्रसाईले जानकारी दिए। नागरिकता प्राप्त गर्न आवश्यक प्रक्रिया पूरा गरेका तर शारीरिक अवस्थाका कारण प्रशासन कार्यालयसम्म पुग्न नसक्ने नागरिकलाई लक्षित गरी सेवा उपलब्ध गराइएको उनले बताए।
घरमै नागरिकता पाएपछि सरोजका बुबा टीका प्रसाईले खुसी व्यक्त गरे। अशक्त छोरालाई कार्यालयसम्म लैजानुपर्ने बाध्यता हटेर घरमै सेवा पाउँदा परिवारलाई ठूलो राहत मिलेको उनले बताए। नागरिकता नेपाली नागरिकको पहिचानसँग जोडिएको महत्वपूर्ण कानुनी दस्ताबेज हो। यसको अभावमा विभिन्न सरकारी सेवा तथा प्रशासनिक प्रक्रिया पूरा गर्न कठिनाइ हुन सक्छ। घरमै पुगेर नागरिकता वितरण गर्ने अभ्यासले अशक्त नागरिकको सरकारी सेवामा पहुँच बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।


