इटहरी स् नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नेता रामहरि खतिवडा सहमहामन्त्री निर्वाचित भएका छन्। दुई जना निर्वाचित हुने यस पदका लागि नौ जना उम्मेदवार चुनावी मैदानमा थिए। तीमध्ये खतिवडा र अर्का नेता अजयबाबु शिवाकोटीले जित निकालेका हुन्।
निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम परिणामअनुसार महाधिवेशनमा खसेको कुल ७ हजार ४३ मतमध्ये खतिवडाले २ हजार ९१० र अजयबाबु शिवाकोटीले २ हजार १७३ मत प्राप्त गरेका छन्। निकटतम प्रतिस्पर्धी डिल्लीराम सुवेदीले १ हजार ८५२, देवेन्द्रराज कँडेलले १ हजार ३८१, राजीव ढुंगानाले १ हजार २३२ र विकास कोइरालाले १ हजार १४४ मत पाएका छन्।
त्यस्तै, अमृतकुमार अर्यालले ९२१, रमेशप्रसाद धमलाले ७८० तथा विमलराज क्षेत्रीले २८३ मत प्राप्त गरेका छन्। खुलातर्फ लोकप्रिय मतसहित सहमहामन्त्री निर्वाचित खतिवडाले पार्टीको आन्तरिक एकतालाई बलियो बनाउन आफू लागिपर्ने बताएका छन्। ओखलढुंगाका खतिवडा आफ्नो जिल्लाबाट नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिमा पदाधिकारी बन्ने पहिलो नेता भएका छन्।
२०२६ साल पुस २४ गते ओखलढुंगा जिल्लाको साविक थाक्ले गाउँमा पिता जीवनाथ खतिवडा र माता यशोदा खतिवडाको कोखबाट जन्मिएका खतिवडा प्रजातन्त्र प्राप्तिको आन्दोलनदेखि नै कांग्रेसको राजनीतिमा सक्रिय थिए। २०४५ सालदेखि कांग्रेसको राजनीतिमा सक्रिय उनी दुई पटक सांसद र दुईवटा संसदीय समितिका सभापति भएर काम गरिसकेका छन्। यसअघि १४औँ महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएर काम गरेका खतिवडाले यसपटक भारी मतसहित सहमहामन्त्रीको जिम्मेवारी पाएका हुन्। राजनीतिशास्त्र र कानुनमा स्नातकोत्तर गरेका खतिवडाले नेता कृष्णप्रसाद भट्टराईसँग निकट रहेर काम गरेका थिए।
आफूलाई किसुनजीकै राजनीतिक चेलो भन्न रुचाउने खतिवडाले किसुनजीबाट सिकेको राजनीतिक संस्कारलाई भने आफ्नो जीवन व्यवहारमा पूर्ण रूपमा उतार्न सकेका छैनन्। यद्यपि, उनले क्रमिक रूपमा राजनीतिक सफलता हासिल गर्दै आएका छन्। वि।सं। २०७० सालमा सम्पन्न दोस्रो संविधानसभा निर्वाचनमा ओखलढुंगा क्षेत्र नम्बर २ बाट निर्वाचित खतिवडा २०७४ सालको निर्वाचनमा भने नेकपा एमालेका नेता यज्ञराज सुनुवारसँग पराजित भए। पुनः २०७९ सालमा भएको प्रतिनिधिसभा निर्वाचनमा ओखलढुंगाबाट ३३ हजार ५५६ मतसहित सांसदमा निर्वाचित भए। त्यसबेला उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका यज्ञराज सुनुवारले २६ हजार ७३८ मत प्राप्त गरेका थिए।
पार्टीको १०औँ महाधिवेशनदेखि नै महाधिवेशन प्रतिनिधि हुँदै आएका नेता खतिवडाले आफ्नो राजनीतिक जीवनमा विभिन्न पद तथा जिम्मेवारी सम्हालिसकेका छन्। २०७८ सालमा भएको १४औँ महाधिवेशनमा लोकप्रिय मतसहित पहिलोपटक केन्द्रीय सदस्य बनेका खतिवडा २०७९ सालमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि २०८० सालमा प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको सभापति बनेका थिए। यसैबीच, उनले २०८२ सालमा संसदीय सुनुवाइ समितिको सभापतिको जिम्मेवारीसमेत पाएका थिए। यद्यपि, जेनजी आन्दोलनपछि भएको सत्ता परिवर्तन र अन्तरिम सरकारले संसद् विघटन गरेसँगै उनको संसदीय जिम्मेवारी पनि समाप्त भयो।
२०८३ सालमा सम्पन्न नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा उनी खुलातर्फबाट सहमहामन्त्री निर्वाचित भएका हुन्। उनको जितले ओखलढुंगाको राजनीतिक तथा सामाजिक क्षेत्रमा थप योगदान पुग्ने जिल्लाका नेता तथा कार्यकर्ताले अपेक्षा गरेका छन्। खतिवडाले सबैलाई मिलाएर अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने ओखलढुंगा कांग्रेसको अपेक्षा छ। उनले उक्त अपेक्षा कसरी पूरा गर्छन् भन्ने कुरा भने हेर्न बाँकी छ। तर, खतिवडाले कसैलाई नजिक वा टाढाको व्यवहार नगरी सबैलाई एकताबद्ध बनाएर पार्टीलाई बलियो र गतिशील बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।


