इटहरी । मोरङको बुढीगंगा गाउँपालिकाको नवनिर्मित सुविधा सम्पन्न प्रशासनिक भवन सोमबार देखि औपचारिक रूपमा सञ्चालनमा आएको छ।
गाउँपालिका–५ स्थित ९ कठ्ठा २ धुर क्षेत्रफलमा बनेको उक्त भवनको गाउँपालिका अध्यक्ष जितनारायण थापा मगरले उद्घाटन गरी प्रशासनिक सेवा सुरु गर्नुभएको हो । भवन उद्घाटन गर्दै अध्यक्ष थापा मगरले आफ्नै आधुनिक भवनबाट सेवा प्रवाह गर्न पाउनु गाउँपालिकाका लागि महत्त्वपूर्ण उपलब्धि भएको बताउनुभयो। नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले शिलान्यास गर्नुभएको उक्त आयोजना डा. कोइरालाकै पहलमा सङ्घीय सरकारको ६० प्रतिशत र गाउँपालिकाको ४० प्रतिशत साझेदारीमा सम्पन्न भएको हो।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रयास भट्टराईका अनुसार मूल्य अभिवृद्धि कर सहित कुल ८ करोड ७६ लाख ४० हजार ६ सय ५३ रुपैयाँ २३ पैसाको लागतमा निर्माण कार्य पूरा भएको हो। धरान–१३, सुनसरीस्थित ब्राइट ब्लु निर्माण सेवाले निर्धारित समयमै निर्माण सम्पन्न गरेको र हालसम्म ७ करोड ५५ लाख ५ सय ५५ रुपैयाँ १६ पैसा भुक्तानी भइसकेको अधिकृत भट्टराईले जानकारी दिनुभयो। सबै शाखाहरू एउटै भवनबाट सञ्चालनमा आएपछि नागरिकले सुलभ, छिटोछरितो र प्रभावकारी सेवा प्राप्त गर्ने अपेक्षा गरिएको छ।
यसले कर्मचारीको कार्यक्षमता अभिवृद्धि गर्नुका साथै स्थानीय तहमा सुशासन प्रवद्र्धन गर्न, पारदर्शिता कायम राख्न र प्रशासनिक कार्यलाई थप व्यवस्थित बनाउन महत्त्वपूर्ण योगदान पु¥याउने विश्वास गाउँपालिकाले लिएको छ ।


