इटहरी। उदयपुरमा प्रहरीले ९४० केजी ४४० ग्राम गाँजासहित बोलेरो गाडी नियन्त्रणमा लिएको छ भने १०० केजी गाँजासहित एक युवकलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार आज सोमवार बिहानको राति करिब २ बजे चौदण्डीगढी नगरपालिका–१ चारघरेस्थित रानीटार–बेल्टार भित्री सडक खण्डमा गाँजा ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी टोलीले पार्किङ गरी राखेको बा १४ च २२५५ नम्बरको बोलेरो नियन्त्रणमा लिएको हो। उक्त बोलेरोबाट २९ वटा बोरामा राखिएको बोरा सहित ९४० केजी ४४० ग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ।

घटनामा संलग्न व्यक्तिहरू फरार रहेकाले उनीहरूको खोजतलास भइरहेको प्रहरीले जनाएको छ। त्यस्तै, हिजो असोज २५ गते राति करिब १०ः२० बजे इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले कटारी नगरपालिका–६ स्थित सागुरी पुल नजिकैको जंगलबाट १०० केजी गाँजासहित एक युवकलाई पक्राउ गरेको छ। तिनतलेबाट सिराहातर्फ लैजाँदै गरेको पाँच वटा बोरामा राखिएको गाँजासहित ताप्ली गाउँपालिका–२ का करिब २२ वर्षीय विश्वराज राईलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

उक्त घटनामा संलग्न अन्य व्यक्तिहरू फरार रहेकाले उनीहरूको खोजतलास भइरहेको छ। पक्राउ परेका राईलाई इलाका प्रहरी कार्यालय कटारीको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।