इटहरी । सुनसरीको दुहबी नगरपालिका–६ स्थित ऐतिहासिक दुर्गाकाली मन्दिरमा फूलपातीदेखि लाग्ने दशैं मेलालाई व्यवस्थित, सुरक्षित र भव्य बनाउन विशेष सुरक्षा योजना लागू गरिने भएको छ।
मेलामा आउने भक्तजनको सुरक्षा, भीड व्यवस्थापन र सहज पूजाआजाका लागि आयोजकले आवश्यक तयारी तीव्र पारेको छ। पूजा व्यवस्थापन समितिले पत्रकार सम्मेलन आयोजना गरी मेला क्षेत्रमा प्रहरी बिट स्थापना, प्रहरी तथा स्वयंसेवक परिचालन र भीडभाड हुने स्थानमा सीसीटीभी मार्फत निगरानी गरिने जानकारी दिएको छ ।
समितिका अध्यक्ष अनिलकुमार ठाकुरका अनुसार श्रद्धालुलाई सुरक्षित वातावरणमा पूजाआजाको व्यवस्था मिलाउनुका साथै व्यवस्थित पार्किङ र पार्किङ शुल्कमा पारदर्शिता कायम गर्न विशेष ध्यान दिइएको छ । त्यस्तै दुहबी नगरपालिका–६ का वडा अध्यक्ष घनश्याम हलुवाइले विगतका सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै सम्भावित अप्रिय घटना रोक्न सुरक्षा व्यवस्था थप कडा बनाइएको बताउनुभयो । मेला क्षेत्रमा शान्ति–सुरक्षा कायम गर्न सम्बन्धित निकायसँग आवश्यक समन्वय गरिएको जानकारी दिँदै वडा अध्यक्ष हलुवाइले यस वर्षको मेलाको मुख्य आकर्षणका रूपमा महाकालको भव्य झाँकी प्रस्तुत गरिने समेत बताउनुभयो ।
धार्मिक आस्था र सांस्कृतिक पहिचान बोकेको यस मेलालाई साङ्गठनिक रूपमा भव्य र सभ्य ढङ्गले सम्पन्न गर्न आयोजकले सम्पूर्ण भक्तजनलाई सुरक्षा नियम पालना गरी सहयोग गर्न आग्रह गरेको छ ।


