इटहरी । लायन्स क्लब अफ इटहरीले लियो क्लब अफ इटहरी र रोट्रयाक्ट क्लब अफ इटहरीको सहकार्यमा बराहक्षेत्र नगरपालिका वडा नं. २, जब्दीस्थित जलदेवी आधारभूत विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण गरेको छ ।

विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई कापी, कलम, पेन्सिल, फुटबल, भलिबल लगायतका सामग्रीहरू हस्तान्तरण गरिएको लायन्स क्लब अफ इटहरीका अध्यक्ष बम मानन्धरले जानकारी दिनुभयो । उहाँका अनुसार शुक्रबार विद्यालयमा एक औपचारिक कार्यक्रमको आयोजना गरी विद्यार्थीहरूलाई शैक्षिक र विद्यालयलाई खेलकुदका सामग्री हस्तान्तरण गरिएको हो। विद्यालय प्राङ्गणमा आयोजित कार्यक्रममा लायन्स क्लब अफ इटहरीका अध्यक्ष बम मानन्धर, क्लबका सल्लाहकार एवं पूर्वअध्यक्षहरू रामनारायण राउत, केशव न्यौपाने, डम्बरबहादुर बस्नेत र पेसल कुमार लम्सालको उपस्थिति रहेको थियो।

त्यसैगरी क्लबका तृतीय उपाध्यक्ष लक्ष्मण हुमागाईँ, कोषाध्यक्ष माधव पाठक, रोट्रयाक्ट क्लब अफ इटहरीका अध्यक्ष अनुप्रास विष्ट, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार राई, क्लबका पदाधिकारी, शिक्षक, विद्यार्थी तथा अभिभावकहरूको सहभागिता रहेको विद्यालयका प्रधानाध्यापक नरकुमार राईले बताउनुभयो । हस्तान्तरण गरिएका सामग्रीहरूले विद्यालयमा अध्ययनरत आर्थिक रूपमा विपन्न परिवारका विद्यार्थीहरूलाई ठूलो सहयोग पुग्ने र यसले उनीहरूलाई नियमित विद्यालय आउनका साथै खेलकुद गतिविधिमा लाग्न प्रोत्साहन मिल्ने प्रधानाध्यापक राईको भनाइ छ ।

लायन्स क्लबले वार्षिक नियमित कार्यक्रम अन्तर्गत यो सहयोग गरेको र आगामी दिनमा पनि रक्तदान, स्वास्थ्य शिविर, पोसाक तथा स्टेसनरी वितरण र अनाथ बालबालिकालाई भोजन गराउने जस्ता सामाजिक कार्यहरूलाई निरन्तरता दिइने अध्यक्ष बम मानन्धरले बताउनुभयो ।