इटहरी। धनकुटामा एक वर्षको अवधिमा भएका विकास निर्माण तथा सरकारी कार्यक्रमको प्रगति समीक्षा गर्दा खानेपानी, सडक, पुल, भवन, स्वास्थ्य संस्थालगायतका पूर्वाधार निर्माणको अवस्थासहित तथ्यांक प्रस्तुत गर्नुपर्ने पूर्वमन्त्री राजेन्द्रकुमार राईले बताउनुभएको छ ।
जिल्ला समन्वय समिति धनकुटाको आयोजनामा बिहीबार आयोजित ‘स्थानीय तहको असल अभ्याससम्बन्धी अनुभव आदानप्रदान तथा आर्थिक वर्ष २०८२।८३ को वार्षिक प्रगति समीक्षा कार्यक्रम’को उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले जिल्लामा भएका कामको वास्तविक अवस्था तथ्यांकका आधारमा सार्वजनिक गर्नुपर्ने बताउनुभयो । उहाँले जिल्लास्थित सरकारी कार्यालयका प्रमुखहरूले आ–आफ्नो क्षेत्रको वन क्षेत्रफल, रोजगारी सिर्जना, राजस्व संकलन, खानेपानीको अवस्था तथा सेवा विस्तारलगायतका विषयको तथ्यांक प्रस्तुत गर्नुपर्ने बताउनुभयो । कृषि क्षेत्रको समीक्षा गर्दा जिल्लामा उत्पादन हुने तरकारी, अन्न, धान, मकै लगायतका कृषि उपजको उत्पादन परिमाणसमेत समेटिनुपर्ने उहाँको भनाइ थियो ।
पूर्वमन्त्री राईले धनकुटामा बाँदरको समस्या बढ्दै गएको उल्लेख गर्दै कृषि उत्पादनमा परेको असरबारे समेत समीक्षा आवश्यक रहेको बताउनुभयो । उहाँले गाँजाको औषधिजन्य उपयोगको सम्भावनाबारे अध्ययन तथा नीतिगत बहस आवश्यक रहेको धारणा राख्दै यस विषयलाई कानुनी र नीतिगत व्यवस्थासँग जोडेर हेर्नुपर्ने बताउनुभयो । उहाँले गाँजा खेतीलाई व्यवस्थित तथा कानुनी दायरामा ल्याएर औषधिजन्य उत्पादनमा उपयोग गर्न सकिने विषयमा समेत छलफल आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले स्थानीय तह र सरकारी कार्यालयले गरेका राम्रा तथा सुधार गर्नुपर्ने कामको अभिलेख राख्नेगरी जिल्ला समन्वय समितिले ‘ब्लु प्रिन्ट’ तयार गरी कार्यान्वयनमा ल्याउनुपर्ने बताउनुभयो । सार्वजनिक पदमा रहेका जनप्रतिनिधि तथा कर्मचारीले आचारसंहिता पालना गर्दै जनताप्रति जिम्मेवार भएर काम गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले वार्षिक प्रगति समीक्षा कार्यक्रम नाममा मात्र सीमित नभई वर्षभरि गरिएका गतिविधिको सार्वजनिककरणसमेत भएको बताउनुभयो । तामाङले पुँजीगत बजेट खर्च हुन नसक्ने अवस्था अन्त्य गर्नुपर्ने बताउँदै बजेट खर्चसँगै भौतिक प्रगति पनि देखिनुपर्नेमा जोड दिनुभयो । बजेट फ्रिज भएर जाने अवस्था आउन नदिन समयमै योजना कार्यान्वयन गर्नुपर्ने तथा समीक्षा कार्यक्रमलाई पनि जिम्मेवारीपूर्वक सञ्चालन गर्नुपर्ने उहाँको भनाइ छ ।
कार्यक्रममा आर्थिक वर्ष २०८२।८३ मा जिल्लामा सञ्चालन भएका विकास निर्माण, सेवा प्रवाह तथा विभिन्न सरकारी कार्यक्रमको प्रगति, उपलब्धि, समस्या र आगामी दिनमा गर्नुपर्ने कामका विषयमा समीक्षा तथा अनुभव आदानप्रदान गरिएको थियो । जिल्ला समन्वय समितिका प्रमुख निरेन तामाङको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, स्थानीय तहका प्रमुख तथा उपप्रमुख, सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि र पत्रकारलगायतको सहभागिता रहेको थियो ।


