इटहरी । मोरङको पथरी शनिश्चरे नगरपालिका–१ स्थित पञ्चायत माध्यमिक विद्यालयका निवर्तमान प्रधानाध्यापक अर्जुनकुमार बुढाथोकीलाई सम्मानसहित बिदाइ गरिएको छ।

विद्यालयको शैक्षिक तथा संस्थागत विकासमा उहाँले पु¥याउनुभएको योगदानको प्रशंसा गर्दै आयोजित कार्यक्रममा आगामी जीवनका लागि शुभकामना व्यक्त गरिएको हो । विसं २०४९ फागुन १९ देखि निजी स्रोतको नेपाली शिक्षकका रूपमा शिक्षण यात्रा सुरु गरी २०७० असोज १५ देखि प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्नुभएका बुढाथोकी उमेर हदका कारण अनिवार्य अवकाश हुनुभएको हो। कार्यक्रमका प्रमुख अतिथि पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्बापोले बुढाथोकीको कुशल नेतृत्व र शिक्षा क्षेत्रप्रतिको समर्पणको प्रशंसा गर्दै आगामी दिनमा पनि उहाँको ज्ञान र अनुभवको लाभ नगरले पाउने विश्वास व्यक्त गर्नुभयो।

त्यसैगरी, नगरपालिकाका शिक्षा शाखा प्रमुख नवीन खुलाल बुढाथोकी तथा वडा अध्यक्ष भीम कुमार बुढाथोकी लगायतका वक्ताहरूले विद्यालयको शैक्षिक गुणस्तर, पूर्वाधार निर्माण र संस्थागत विकासमा उहाँले पु¥याउनुभएको अतुलनीय योगदानको स्मरण गर्नुभयो। ३३ सय भन्दा बढी विद्यार्थी अध्ययनरत यस विद्यालयलाई प्रदेशकै उत्कृष्ट नमुना बनाउनुका साथै पथरी बहुमुखी क्याम्पसको संस्थापक क्याम्पस प्रमुखका रूपमा समेत उहाँले दुई कार्यकाल महत्त्वपूर्ण योगदान दिनुभएको थियो।

कार्यक्रममा उपस्थित शिक्षक, अभिभावक र विद्यार्थीहरूले दोसल्ला, खादा, मायाको चिनो र ललितकलाका विद्यार्थीले तयार पारेको मुहार चित्र उपहार दिँदै बिदाइ गरेका थिए । बिदाइ मन्तव्य दिँदै निवर्तमान प्रधानाध्यापक अर्जुनकुमार बुढाथोकीले नयाँ नेतृत्वमा विद्यालयले थप प्रगति गर्ने विश्वास व्यक्त गर्दै विद्यालयको शैक्षिक विकासमा सधैँ सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो।