इटहरी । मोरङको सुन्दरहरैँचा नगरपालिका–३ स्थित गछियामा व्यवस्थित र आधुनिक ‘एसएस फिटनेस’ सेन्टर सञ्चालनमा आएको छ। 

स्थानीय युवा तथा सबै उमेर समूहका नागरिकलाई स्वस्थ र सक्रिय जीवनशैलीतर्फ प्रेरित गर्ने उद्देश्यले यो सेन्टर सञ्चालनमा ल्याइएको हो। आइतबार आयोजित एक विशेष कार्यक्रमका बीच प्रमुख अतिथि एवम् राजनीतिक तथा सामाजिक व्यक्तित्व देवराज तामाङले रिबन काटेर फिटनेस सेन्टरको औपचारिक उद्घाटन गर्नुभयो।

कार्यक्रममा बोल्दै तामाङले अस्वस्थ खानपान र शारीरिक गतिविधिको कमीले स्वास्थ्य समस्या बढिरहेका बेला नियमित व्यायामलाई जीवनशैलीको अभिन्न हिस्सा बनाउनुपर्नेमा जोड दिनुभयो। एसएस फिटनेसका सञ्चालक सुमन याक्खाको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा ग्राहकहरूका लागि विशेष छुटको अफरसमेत सार्वजनिक गरिएको छ। सञ्चालक याक्खाका अनुसार उद्घाटनको अवसरमा १५ दिनसम्म भर्ना शुल्क पूर्ण रूपमा निःशुल्क गरिएको छ।

सेन्टरमा मासिक शुल्क २ हजार रुपैयाँ तोकिएको छ भने १ हजार रुपैयाँ छुटसहित ३ महिनाको प्याकेज ५ हजार रुपैयाँमा उपलब्ध गराइनेछ। त्यसैगरी, वार्षिक सदस्यताका लागि १८ हजार रुपैयाँ शुल्क कायम गरिएको छ। गुणस्तरीय सेवा र आधुनिक वातावरण सहित सञ्चालनमा आएको यस सेन्टरले सुन्दरहरैँचा क्षेत्रका व्यायाम प्रेमीहरूलाई सहज हुने सञ्चालक याक्खाले विश्वास व्यक्त गर्नुभयो।