इटहरी। याङवरक गाउँपालिका–१ मा तीन वर्षको अन्तरालमा बाढीपहिरो दोहोरिएपछि स्थानीयवासी त्रासमा बाँच्न बाध्य छन् । विसं २०८० असार ३ गते यस क्षेत्रमा बाढीपहिरो आउँदा वर्षौँदेखि चलिरहेका सडक, पुल, झोलुङ्गे पुल, भौतिक संरचना, घरगोठलगायतमा ठुलो क्षति भएको थियो ।
यहाँका मुरुङ्गा, मेवा र लम्बाखोला तथा अन्य ससाना खोल्सीमा आएको बाढी र सयौँ स्थानमा खसेको पहिरोले ठुलो क्षति पुर्याएको थियो । उक्त समय यहाँका समरजुङ, मगरडाँडा, कोप्चे, खोलाघारी, चोक, चाम्लिङडाँडा, बिरुवा वस्ती प्रभावित भएका थिए । उक्त समयको क्षति भुल्न नपाउँदै यस वर्ष गत जेठमा बाढीपहिरोले उस्तै क्षति पुर्याएपछि स्थानीयवासी चिन्तित छन् । स्थानीय रामकुमार राईको घरमा भेटिएका इन्द्रबहादुर चाम्लिङले भन्नुभयो, उस्तै विपद् दोहोरिएपछि त्रासमा बाँच्नुपर्ने अवस्था आएको उहाँको भनाइ छ ।
चाम्लिङडाँडाका महमलाल खवासको घरको आगनबाट लम्बाखोलाको बाढी बगेपछि परिवार त्रासमा थियो । तर विगतमा जस्तो भयावह अवस्था नहोला भनेर खवास परिवारले घरलाई थप व्यवस्थित गर्यो । यस वर्ष विगतमा भन्दा भयावह बाढीपहिरो मात्रै आएन, खवासको घर नामोनिशान नरहने गरी बगाएर लग्यो । खवास परिवार अहिले देउकुमार राईको बन्दकी लगाएर बसिरहेको छ । तर त्रासले भने नछोडेको महमलालको भनाइ छ ।
कम्तीमा १० लाख रुपियाँ लागत मूल्याङ्कन हुने घरसहित जग्गा जमिन र सबै सामग्री पहिरोले बगाएपछि खवास परिवार विदेश गएका छोराको मद्दतले जीविका चलाइरहेको छ । उक्त पहिरोमा महमलालका भाइ कविरमान खवासको घर तथा यहाँका रविन राई, रामकुमार राई, जहरमान बेघालगायत १६ परिवारको अलैँची तथा धानखेती बगरमा परिणत भएको छ । बाढीपहिरोमा चाम्लिङडाँडाका रामकुमार राईको घर त जोगिएको छ तर आम्दानीको बाटो समाप्त भएको उहाँको भनाइ छ । तीन वर्षअघि २०८० सालमा बर्सेनि करिब १० मन ९४० किलो० उत्पादन हुने अलैँची बारी पहिरोले बगाएको थियो । अहिले त्योभन्दा दोब्बर बढी अलैँची फल्ने बारी बगाएपछि हातपाउ गलेको रामकुमारको भनाइ छ । अलैँची टिप्ने बेलामा रामकुमारसँग अलैँचीको बगान नै बाँकी छैन ।
बाढीपहिरोले चाम्लिङडाँडाकै रविन राईको घर जोखिममा पारेको छ । उहाँको घरभन्दा मुनि गैरीखेत पहिरोले तानेको छ भने अगाडि पँधेरे खेत बाढीले पुरेको छ । प्राकृतिक विपत्तिमा घरको पूर्ण क्षति भएका परिवारलाई सरकारले जिल्ला दैवी प्रकोप समितिमार्फत चार लाख रुपियाँ दिने व्यवस्था रहेको छ । तर तीन किस्तामा प्राप्त हुने रकम लिन असाध्यै कठिन पर्ने बुझेर पहिरो प्रभावित महमलाल खवास सरकारको बाटो नहेर्ने सोचाइमा हुनुहुन्छ । विदेश गएको छोरो आएपछि गाउँकै पाखाभित्तामा जग्गा खोजेर घर बनाउने योजना खवास परिवारको छ । त्यसैले उनीहरू सरकारसँग केही नमाग्ने पक्षमा हुनुहुन्छ । स्थानीय तहले क्षतिपूर्ति दिन नसक्ने र माथिल्ला निकायले वास्ता नगर्ने हुँदा कुनै प्रकारको राहत पाउने आशा अर्का प्रभावित रामकुमार राईसँग पनि छैन ।


