इटहरी। धरान उपमहानगरपालिका–१३ स्थित कृषि बजारमा निर्माण गरिएको शीतगृह ९चिस्यान केन्द्र० ले किसानलाई राहत मिलेको छ ।

विगतमा बिक्री नभएर आफ्ना उत्पादन खेर फाल्न बाध्य हुने किसानले अहिले बिक्री नभएका कृषि उत्पादन शीतगृहमा भण्डारण गर्न थालेका छन् । इटहरीका व्यापारी उमेश खड्काले शीतगृह निर्माण भएपछि किसानलाई राहत मिलेको बताए । शीतगृहले फलफूल तथा कृषि उपजको भण्डारण र बिक्रीमा सहजता ल्याएको छ ।

कुनै फलफूल एकैपटक पाक्ने भएकाले तत्काल बजारमा बिक्री गर्दा कम मूल्यमा बेच्नुपर्ने वा बिग्रिने समस्या हुने गरेको थियो । तर, शीतगृहमा राखेर १५ देखि २० दिनपछि बिक्री गर्दा पनि फलफूल नबिग्रिने भएकाले किसानलाई फाइदा पुगेको उनले बताए । ‘अहिले ड्रागन फ्रुटलगायतका फलफूल शीतगृहमा राखेको छु । दुई हप्तासम्म यहाँ राख्दा पनि नबिग्रिने भएकाले बजारमा बिक्री गर्न सहज भएको छ,’ उनले भने । धनकुटाका व्यापारी उमेश राईले पनि शीतगृह सञ्चालनमा आएपछि कृषि उपजको बिक्री तथा भण्डारणमा सहज भएको बताए ।

लामो दूरी तय गरेर धरानमा कृषि उपज बिक्री गर्न ल्याउँदा कहिलेकाहीँ बिक्री नभएर सित्तैमा बाँड्नुपर्ने वा फालेर जानुपर्ने अवस्था रहेको उनले सुनाए । ‘पहिले फलफूल तथा तरकारी बिक्री नभएर के गर्ने भन्ने तनाव हुन्थ्यो, सबै खेर जान्थ्यो । तर, अहिले सस्तो मूल्यमा शीतगृहमा राखेर घर फर्किन पाइन्छ र पछि आएर बिक्री गर्न सकिने भएकाले धेरै राहत मिलेको छ,’ उनले भने । जाडो मौसममा फलफूल दुई–तीन दिनसम्म बाहिर राख्न सकिए पनि गर्मीमा एक दिनमै बिग्रिने समस्या हुने गरेको राईले बताए । ‘शीतगृह निर्माणपछि किसानको मेहनत खेर जानबाट जोगिएको छ,’ उनले भने । शीतगृह निर्माण भएपछि पहाडी तथा तराई क्षेत्रका किसानलाई ठूलो राहत मिलेको छ ।

धनकुटा, भोजपुर, तेह्रथुम, सङ्खुवासभा र खोटाङलगायत जिल्लाबाट कृषि उपज बजारमा तरकारी तथा फलफूल बिक्री गर्न आउने किसानका लागि शीतगृह आम्दानी सुरक्षित गर्ने विकल्प बनेको छ । कोशी प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले आर्थिक वर्ष २०७६र७७ मा बाली विशेष भण्डार गृह निर्माण कार्यक्रमअन्तर्गत उपलब्ध गराएको ४९ लाख ८३ हजार ३०० रुपैयाँ र कृषि बजार व्यवस्थापन समितिको २६ लाख ९७ हजार ८४० रुपैयाँ गरी कुल ७६ लाख ८१ हजार १४० रुपैयाँको लागतमा पहिलो शीतगृह निर्माण गरिएको हो ।

शीतगृहमा कृषि उपज भण्डारण गर्ने किसान तथा व्यापारीको माग बढेपछि आर्थिक वर्ष २०७७र७८ मा पनि कोशी प्रदेश सरकारले ५० लाख रुपैयाँ उपलब्ध गराएको थियो । त्यसमा कृषि बजार व्यवस्थापन समितिले १७ लाख रुपैयाँ थप गरी कुल ६७ लाख रुपैयाँ लागतमा अर्को शीतगृह निर्माण गरिएको कृषिउपज बजार व्यवस्थापन समितिका व्यवस्थापक अध्यक्ष लक्ष्मण भट्टराईले जानकारी दिए । यसैगरी, आँप, केरा र भुइँकटहरलगायत फलफूललाई रसायन प्रयोग नगरी तापक्रम मिलाएर पकाउन यस वर्ष अर्को च्याम्बर निर्माण गर्न लागिएको अध्यक्ष भट्टराईले बताए । सङ्घीय सरकारको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम र धरान कृषि बजार व्यवस्थापन समितिको ५०र५० प्रतिशत साझेदारीमा उक्त च्याम्बर निर्माण गर्न लागिएको हो ।

यस वर्ष च्याम्बर निर्माण गरी आगामी असारदेखि किसानलाई सेवा उपलब्ध गराउने गरी निर्माण गर्न लागिएको उनले बताए । अहिले शीतगृहमा ६ वटा च्याम्बर रहेका छन् । एउटा च्याम्बरमा २५ देखि ३० टनसम्म कृषि उपज भण्डारण गर्न सकिन्छ । ६ वटा च्याम्बरमध्ये २५ टन क्षमताको एउटा च्याम्बर किसानका लागि आरक्षण गरिएको व्यवस्थापक अध्यक्ष भट्टराईले बताए । शून्य डिग्री तापक्रम कायम रहने शीतगृहमा अहिले आलुको बीउ, जुम्ली स्याउ, नौनी घिउ र भारतबाट ल्याइएको सयपत्री फूल भण्डारण गरिएको छ । शीतगृहमा ड्रागन फ्रुट एक महिनासम्म, किबी तीन महिनासम्म, आलुको बीउ एक वर्षसम्म र हरियो तरकारी एक हप्ताभन्दा बढी समयसम्म भण्डारण गर्न सकिने भट्टराईले बताए ।

शीतगृहमा कृषि उपज भण्डारण गरेबापत किसानले प्रतिकेजी प्रतिमहिना २ रुपैयाँ ५० पैसा शुल्क तिर्नुपर्ने व्यवस्था रहेको उनले जानकारी दिए । व्यापारीले पनि बाहिरबाट खरिद गरेर ल्याएका स्याउ, अङ्गुर र अनारजस्ता फलफूल शीतगृहमा राख्ने गरेका छन् । धरानस्थित कृषिउपज बजारमा दैनिक एक हजारभन्दा बढी किसान र करिब दुई सय व्यापारीबीच कारोबार हुने गरेको छ । जाडो मौसममा भन्दा गर्मी मौसममा शीतगृहले किसानलाई अझ बढी राहत दिने गरेको छ । शीतगृह सञ्चालनपछि किसानलाई ठूलो राहत मिलेको भए पनि विद्युत् महसुल अत्यधिक लाग्ने र त्यसमा मूल्य अभिवृद्धि कर ९भ्याट० समेत जोडिँदा आर्थिक भार बढेको छ । शीतगृहको आम्दानीबाट मुस्किलले विद्युत् महसुल तिर्नुपर्ने अवस्था रहेको व्यवस्थापक अध्यक्ष भट्टराईले बताए । ‘सरकारले विद्युत् महसुलमा ५० प्रतिशत छुट दिए शीतगृह सञ्चालन सहज हुने थियो,’ उनले भने ।