इटहरी स् नेपाली कांग्रेस धनकुटा नगर कार्यसमितिले १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित जिल्ला सचिव विजय सन्तोषी राईसहित नगरका १० जना वडा सभापतिलाई सम्मान गरेको छ।

नगर कार्यसमितिले बिहीबार आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा नगर सभापति अमितलो तामाङले राईसहित सबै वडा सभापतिलाई ढाकाटोपी र खादा लगाएर सम्मान गर्दै सफल कार्यकालको शुभकामना दिए। सम्मानित हुनेमा धनकुटा नगरपालिका–१ का सभापति वीरबहादुर तीतुङ, २ का राजकुमार राई, ३ का शान्तिराम मिश्र, ४ का थिरबहादुर थापा, ५ का गोविन्द राई, ६ का अनिता लुइटेल, ७ का शैलेशमान श्रेष्ठ, ८ का सुशील राई, ९ का सीताराम न्यौपाने र १० का भीम खनाल छन्।

कार्यक्रममा नगर कार्यसमितिका उपसभापति मञ्जु कार्की र रुपेश श्रेष्ठ, सचिव दामोदर सुवेदी, सहसचिव तथा सदस्यहरूको सहभागिता थियो। सम्मानितका तर्फबाट जिल्ला सचिव विजय सन्तोषी राई र वडा नम्बर ६ की सभापति अनिता लुइटेलले १५औँ महाधिवेशनले अग्रजको सम्मान गर्दै युवालाई जिम्मेवारी हस्तान्तरण, रूपान्तरण र परिवर्तनलाई संस्थागत गर्ने आधार तयार गरेको बताए।

नगर सभापति अमितलो तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपसभापति रुपेश श्रेष्ठले स्वागत मन्तव्य र सचिव दामोदर सुवेदीले सञ्चालन गरेका थिए। यसैबीच, नवनिर्वाचित नगर कार्यसमितिको पहिलो बैठकले कार्यालय स्थापना गरी नियमित रूपमा सचिवालय सञ्चालन गर्ने निर्णय गरेको छ। बैठकले नगरका वडा तथा टोल समितिलाई थप सक्रिय बनाउनेलगायतका निर्णयसमेत गरेको सभापति तामाङले जानकारी दिए।