इटहरी। सुनसरीको सीमावर्ती कोशी गाउँपालिका क्षेत्रबाट प्रहरीले लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार बिहीबार साँझ कोशी गाउँपालिका–१, लौकही भन्सार गेटबाट लागुऔषधसहित दुई जना र भोक्राहा नरसिंह गाउँपालिका–६, ईस्राइल कामतस्थित चेकपोस्टबाट एक जना पक्राउ परेका हुन् ।

लौकहीस्थित सशस्त्र प्रहरी बल, नेपाल ९बीओपी० लौकहीबाट खटिएको चेकपोस्ट टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्र।१–०२–०५३ प ४६९६ नम्बरको बजाज कम्पनीको २०० सीसीको मोटरसाइकलमा सवार दुई जनालाई नियन्त्रणमा लिएको हो । शंकास्पद लागेर चेकजाँच गर्दा प्रतिबन्धित लागुऔषध फेला परेपछि कोशी गाउँपालिका–४, जुधगन्जका २५ वर्षीय शम्सेर आलम र २२ वर्षीय अलिसेर मियाँलाई पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ । उनीहरूको साथबाट नेट्रोकोर र स्पास्मो प्लस–१३६ बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका आलम र मियाँलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ । यसैगरी भोक्राहा नरसिंह गाउँपालिका–६, ईस्राइल कामतस्थित चेकपोस्ट टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका इटहरी उपमहानगरपालिका–५, पिपलचोकका १८ वर्षीय मनिष लिम्बूलाई लागुऔषधसहित पक्राउ गरेको जनाएको छ ।