इटहरी। ताप्लेजुङ र पाँचथरको सीमाबाट बग्ने इन्द्रावती खोलामा निर्माण गरिएको ९।९ मेगावाट क्षमताको इँवाखोला जलविद्युत आयोजना चार महिनादेखि ठप्प छ । गत जेठमा आएको बाढीले आयोजनाका विभिन्न संरचनामा क्षति पुर्याएपछि विद्युत् उत्पादन बन्द भएको हो ।
रिडी हाइड्रोपावर लिमिटेडद्वारा प्रवर्धित आयोजनाको बाँधस्थल, बालुवा थिग्राउने पोखरी, पाइपलाइन र विद्युत् गृहमा बाढीले क्षति पुर्याएको छ । क्षतिग्रस्त संरचनाको पुनर्निर्माण सुरु हुन नसक्दा आयोजनाबाट विद्युत् उत्पादन हुन सकेको छैन । आयोजनाका सामाजिक परिचालक तथा हेडबक्स इन्चार्ज टीकाराम मिश्रका अनुसार प्रतिकूल मौसमका कारण पुनर्निर्माणको काम सुरु गर्न ढिलाइ भएको हो । जेठदेखि भदौसम्म लगातारजसो वर्षा हुनुका साथै मेची राजमार्ग र तमोर करिडोरलगायतका सडकमा बाढीपहिरोले क्षति पुर्याएपछि निर्माण सामग्री आयोजनास्थलसम्म पुर्याउन समस्या भएको उहाँले बताउनुभयो ।
क्षतिग्रस्त संरचनाको पुनर्निर्माण गर्ने योजना बने पनि वर्षायामका कारण काम अघि बढाउन नसकिएको आयोजनाले जनाएको छ । मौसममा सुधार आउन थालेकाले दसैँपछि पुनर्निर्माणको काम सुरु गर्ने तयारी रहेको मिश्रले बताउनुभयो । बाढीपहिरोका कारण आयोजनाका अधिकांश संरचनामा क्षति पुगेकाले पुनर्निर्माणमा ठूलो लगानी आवश्यक पर्ने प्रवर्धक कम्पनी रिडी हाइड्रोपावर लिमिटेडले जनाएको छ । लामो समयदेखि उत्पादन बन्द हुँदा आयोजना र लगानीकर्ताले आर्थिक नोक्सानी बेहोर्नुपरेको छ ।
इँवाखोला आयोजनासँगै बाढीपहिरोबाट क्षति भएका अरुण काबेली पावर लिमिटेडका २५ मेगावाट क्षमताको काबेली ‘बी–१’ तथा १० मेगावाट क्षमताको काबेली ‘बी–१’ क्यास्केड आयोजना पुनर्निर्माणपछि सञ्चालनमा आइसकेका छन् । इँवा हाइड्रोपावर लिमिटेडले इन्द्रावती खोलाबाट उत्पादन गरेको ९।७ मेगावाट क्षमताको आयोजना पनि पुनः सञ्चालनमा आएको छ ।


