इटहरी स्  नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संस्थापन पक्षको अधिवेशनमा अवसर नपाएका नेता–कार्यकर्ता संस्थापन इतर समूहको अधिवेशनमा सहभागी हुन थालेका छन्। संस्थापन पक्षको वडा तथा क्षेत्रीय अधिवेशनमा प्रतिनिधित्व सुनिश्चित गर्न नसकेका कतिपय नेता–कार्यकर्ता इतर समूहबाट पुनः अधिवेशन प्रक्रियामा जोडिएका हुन्।

असोज ३ र ४ गते सम्पन्न संस्थापन पक्षको वडा अधिवेशनमा समेटिन नसकेका तथा असोज १० गते सम्पन्न क्षेत्रीय अधिवेशनमा महाधिवेशन प्रतिनिधि निर्वाचित हुन नसकेका नेता–कार्यकर्ता इतर पक्षको अधिवेशनमा सहभागी भएको पाइएको छ। संस्थापन इतर पक्षले शुक्रबारदेखि वडा अधिवेशन सुरु गरेको छ। त्यसक्रममा बिर्तामोड नगरपालिका–३ र ४ को वडा अधिवेशन सम्पन्न भएको छ। वडा अधिवेशनमा संस्थापन पक्षको प्रक्रियाबाट बाहिरिएका नेता–कार्यकर्ताको सहभागिता देखिएको हो। झापा क्षेत्र नम्बर २ को असोज १० गते सम्पन्न क्षेत्रीय अधिवेशनमा महाधिवेशन प्रतिनिधि बन्न नसकेका टीकादेवी मैनाली र डीबी चिमरिया इतर पक्षको वडा अधिवेशनमा सहभागी भएका छन्।

त्यस्तै, प्रजातान्त्रिक सेनानी क्लस्टरतर्फबाट महाधिवेशन प्रतिनिधि बन्न नसकेका जोसेफ मुर्मु पनि इतर समूहको अधिवेशनमा सहभागी भएर पुनः क्षेत्रीय प्रतिनिधि बनेका छन्। क्षेत्रीय अधिवेशनमा महिला क्लस्टरतर्फबाट निर्वाचनमा पराजित प्रदेश सदस्य मीरा कार्की खड्का पनि इतर समूहको अधिवेशनमा सहभागी हुने तयारीमा रहेको बताइएको छ। संस्थापन पक्षको अधिवेशनमा समेटिन नसकेका सरोज उप्रेती, भक्ति सिटौला, सुरेन्द्र मैनाली, संजय न्यौपाने, राज ढकाललगायतका नेता–कार्यकर्ता पनि इतर पक्षको अधिवेशन प्रक्रियामा जोडिएका छन्। इतर समूहको अधिवेशनबाट बिर्तामोड–३ को वडा सभापतिमा टंक दवाडी र बिर्तामोड–४ को वडा सभापतिमा सुरेन्द्र मैनाली निर्वाचित भएका छन्।

सिटौलाको प्रभावबाट बाहिरिँदै झापाको कांग्रेस

कांग्रेसको १५औँ महाधिवेशनमा झापाको आन्तरिक राजनीतिमा लामो समयदेखि कायम रहेको गुटगत प्रभावमा परिवर्तन देखिएको कांग्रेसका नेता–कार्यकर्ताको बुझाइ छ। विशेषगरी पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला संस्थापन इतर समूहमा गएपछि विगतमा राजनीतिक अवसरबाट वञ्चित भएका कतिपय नेता–कार्यकर्ताले यसपटक आफ्नो राजनीतिक उपस्थिति बलियो बनाउने अवसर पाएका छन्। सिटौलाको राजनीतिक प्रभावका कारण विगतमा अवसर नपाएका भनिएका कतिपय नेता यसपटक विभिन्न तहको निर्वाचनबाट प्रतिनिधिका रूपमा निर्वाचित भएका छन्। यसलाई कांग्रेसभित्र लामो समयदेखि कायम रहेको आन्तरिक शक्ति सन्तुलनमा आएको परिवर्तनका रूपमा कतिपय नेता–कार्यकर्ताले व्याख्या गरेका छन्।

बाह्रदशीका युवा नेता टुमलाल राजवंशी ‘टोम’ यसको एउटा उदाहरण हुन्। उनी १२औँ महाधिवेशनदेखि कांग्रेसको आन्तरिक निर्वाचनमा प्रतिस्पर्धा गर्दै आएका छन्। विगतका तीनवटा महाधिवेशनमा आफूले कुनै जिम्मेवारी वा प्रतिनिधित्वको अवसर नपाएको बताउने राजवंशी यसपटक भने झापा क्षेत्र नम्बर ३ को क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन्। राजवंशीले विगतमा राजनीतिक घेराबन्दीका कारण महाधिवेशन प्रतिनिधि बन्ने अवसर मात्र नभई संविधानसभा सदस्य र तत्कालीन गाविस अध्यक्षको टिकटसमेत नपाएको दाबी गरेका छन्। ‘राजनीतिक घेराबन्दी’कै कारण लामो समयदेखि अवसरबाट बाहिर रहनुपरेका नेता–कार्यकर्ताका लागि यसपटकको महाधिवेशनले अवसरको ढोका खोलेको उनको बुझाइ छ।

राजवंशीजस्तै झापामा लामो समयदेखि राजनीतिक अवसरको खोजीमा रहेका अन्य नेता–कार्यकर्ता पनि यसपटक कांग्रेसको आन्तरिक निर्वाचनबाट अगाडि आएका छन्। विशेषगरी क्षेत्र नम्बर ३ मा विगतको तुलनामा फरक परिणाम देखिएको कांग्रेसका स्थानीय नेताहरू बताउँछन्। २०४६ सालको जनआन्दोलनपछि झापाको कांग्रेस राजनीतिमा सक्रिय बनेका जगदीश काफ्ले पनि यसपटक क्षेत्रीय अधिवेशनबाट बलियो मतसहित निर्वाचित भएका छन्। विगतका आन्तरिक प्रतिस्पर्धामा विभिन्न राजनीतिक समीकरण र दाउपेचका कारण पछि पारिएको बताइने काफ्लेले यसपटक क्षेत्रीय प्रतिनिधिबाट उल्लेख्य मत पाएका हुन्।

‘चाकडीको राजनीति’ अन्त्य हुने अपेक्षा

झापाको कांग्रेस राजनीतिमा लामो समयदेखि व्यक्तिको प्रभाव र गुटगत समीकरण हाबी हुँदै आएको चर्चा हुने गरेको छ। सिटौलाको प्रभावका कारण आफूअनुकूल समूहले पार्टीभित्र अवसर पाउने र फरक धारमा रहेका नेता–कार्यकर्ता पछि पर्ने गरेको आरोप विगतदेखि लाग्दै आएको थियो। सिटौला संस्थापन इतर समूहमा गएपछि भने कांग्रेसभित्र पुरानो शक्ति समीकरणमा परिवर्तन आएको देखिएको कतिपय नेता–कार्यकर्ताको भनाइ छ। ‘सिटौलाको प्रभाव सकिएपछि यसपटक निर्वाचन जित्न सहज भएको’ झापा क्षेत्र नम्बर ३ का एक महाधिवेशन प्रतिनिधिले बताए। उनका अनुसार विगतमा एउटै समूह र व्यक्तिको प्रभावमा सीमित रहेको कांग्रेसको आन्तरिक प्रतिस्पर्धा यसपटक केही फराकिलो भएको छ।

यद्यपि, कांग्रेसभित्र गुट परिवर्तनसँगै नेता–कार्यकर्ताको समूह परिवर्तन हुनु नयाँ विषय भने होइन। संस्थापन पक्षको अधिवेशनमा अवसर नपाएका केही नेता इतर समूहको अधिवेशनमा सहभागी हुनु पनि बदलिँदो राजनीतिक समीकरणकै एउटा परिणाम भएको कांग्रेसका स्थानीय नेता बताउँछन्। कांग्रेस नेता सिटौलाको असहमतिका कारण पार्टीभित्र टिक्न नसकेर कतिपय नेता–कार्यकर्ताले पार्टी नै छाडेका उदाहरणसमेत रहेको कांग्रेसका पुराना कार्यकर्ताको दाबी छ। राप्रपा नेता भक्तिप्रसाद सिटौलालाई उनीहरूले त्यसको उदाहरणका रूपमा लिने गरेका छन्। एक कांग्रेस कार्यकर्ताका अनुसार अब पार्टीभित्र कुनै एक व्यक्तिको चाकडी र चाप्लुसीका आधारमा अवसर पाउने अवस्था अन्त्य हुनुपर्ने आवश्यकता छ। ‘एउटा नेताको प्रभाव सकिएपछि अर्को नेताको चाकडी गर्नुपर्ने अवस्था नआओस् भन्ने चाहना कार्यकर्ताको हो,’ उनले भने।

कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत झापामा संस्थापन र इतर समूहका छुट्टाछुट्टै अधिवेशन प्रक्रिया अघि बढिरहेका बेला नेता–कार्यकर्ताको समूह परिवर्तनले जिल्लाको आन्तरिक राजनीतिमा नयाँ समीकरण बन्ने संकेत गरेको छ। संस्थापन पक्षको अधिवेशनबाट अवसर नपाएका नेता–कार्यकर्ता इतर समूहमा सहभागी हुन थालेपछि आगामी अधिवेशनका अन्य तहमा समेत यसको प्रभाव देखिन सक्ने कांग्रेसका स्थानीय नेता–कार्यकर्ताको आकलन छ।