इटहरी स्  दसैँ–तिहार नजिकिएसँगै धरानमा खसीबोकाको कारोबार बढेको छ। धरान उपमहानगरपालिका–१३ स्थित कृषि उपज बजारमा चाडपर्व लक्षित खसीबोकाको किनबेच बढेपछि किसान तथा व्यापारीको चहलपहलसमेत बढेको हो।

कोशी प्रदेशका पहाडी जिल्लादेखि तराईका विभिन्न स्थानबाट किसान र व्यापारी खसीबोका बिक्री तथा खरिदका लागि धरान आउने गरेका छन्। कृषि उपज बजारमा दैनिक उपभोग्य वस्तुसँगै खसीबोकाको कारोबार हुने गरेको छ। बिहीबार र शुक्रबार भने विशेष रूपमा खसीबोकाको बजार लाग्ने गरेको छ। धरान–१४ का दलबहादुर कथाय विगत १५ वर्षदेखि खसीबोकाको व्यापारमा छन्। उनले घरमै खसीबोका पाल्नुका साथै धनकुटा, पाँचथरलगायत पहाडी जिल्लाबाट खरिद गरेर ल्याइएका खसीबोका पनि बिक्री गर्दै आएका छन्।

‘व्यापार हो, कहिले नाफा हुन्छ, कहिले घाटा। यही व्यवसायबाट घरखर्च चलेको छ,’ कथायले भने, ‘यहाँको खसीबजार व्यवस्थित भएकाले व्यापार गर्न सहज छ।’  मोरङको कानेपोखरीका चन्द्र खड्का पनि हरेक साता खसीबोका खरिदका लागि धरान पुग्छन्। उनले एकपटकमा १०० देखि १५० वटासम्म खसीबोकाको कारोबार गर्दै आएका छन्। खड्का दुई दशकभन्दा लामो समयदेखि यो व्यवसायमा छन्। धरानबाट खरिद गरिएका खसीबोका उनले काठमाडौं, जनकपुर, लहान, इटहरी, इनरुवा र पोखरालगायत सहरमा बिक्री गर्ने गरेका छन्।

चाडपर्वमा कारोबार तेब्बरसम्म

धरान कृषि उपज बजार व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण भट्टराईका अनुसार सामान्य अवस्थामा बजारबाट सातामा तीन हजारभन्दा बढी खसीबोका बिक्री हुने गरेका छन्। दसैँ, तिहारलगायत ठूला चाडपर्वका बेला भने कारोबार उल्लेख्य रूपमा बढ्ने गरेको छ। चाडपर्वको समयमा सातामा १० हजारभन्दा बढी खसीबोका बिक्री हुने गरेको भट्टराईले बताए। उनका अनुसार आर्थिक वर्ष २०८२र८३ मा कृषि उपज बजारबाट एक लाख ६० हजार खसीबोका बिक्री भएका थिए। त्यसबाट करिब तीन अर्ब रुपैयाँ बराबरको कारोबार भएको थियो। गत वर्षको चाडपर्वको समयमा मात्रै करिब ४६ करोड रुपैयाँ बराबरको खसीबोकाको कारोबार भएको बजार व्यवस्थापन समितिको तथ्यांक छ। यस वर्ष चाडपर्वको कारोबार अझ बढ्ने अपेक्षा गरिएको भट्टराईले बताए। उनका अनुसार अघिल्ला वर्षको तुलनामा यस वर्ष बजारमा खसीबोकाको कारोबार करिब १५ प्रतिशतले वृद्धि भइसकेको छ।

पहाडदेखि तराईसम्मका किसानको बजार

धरानको कृषि उपज बजारमा खसीबोका बिक्रीका लागि धनकुटा, पाँचथरलगायत पहाडी जिल्लाका किसान तथा व्यापारी आउने गरेका छन्। तराईतर्फ इटहरी, मोरङको कानेपोखरी, बेलबारीलगायत क्षेत्रबाट समेत किसान र व्यापारी खसीबोका लिएर बजार आउने गरेका छन्। धरान कृषि उपज बजार कोशी प्रदेशकै व्यवस्थित खसीबजारमध्ये एक रहेको अध्यक्ष भट्टराईले बताए। उनका अनुसार बजारले पहाडी क्षेत्रका किसानलाई आफ्ना उत्पादन बिक्री गर्ने भरपर्दो ठाउँ उपलब्ध गराउनुका साथै स्थानीय व्यापार र रोजगारीमा समेत योगदान पुर्‍याउँदै आएको छ। चाडपर्वका बेला खसीबोकाको माग बढ्ने भएकाले यस अवधिमा किसानले राम्रो बजार पाउने गरेका छन्। उत्पादन क्षेत्रदेखि ठूला सहरसम्म खसीबोकाको आपूर्ति गर्ने मुख्य व्यापारिक केन्द्रका रूपमा धरानको कृषि उपज बजार विकसित हुँदै गएको बजार व्यवस्थापन समितिको भनाइ छ।