इटहरी। विराटनगर महानगरपालिका–१६ मा एक पुरुष डेराको कोठाभित्र मृत फेला परेका छन् । कोठाबाट दुर्गन्ध फैलिन थालेको थाहा पाएर स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
स्थानीय अमोद लामाको घरमा डेरा गरी बस्दै आएका ४८ वर्षीय बब्लु श्रेष्ठ शुक्रबार बिहान मृत अवस्थामा भेटिएका हुन् । उनी सिटी सफारी चलाएर जीविकोपार्जन गर्दै आएका थिए । कोठाबाट अस्वाभाविक दुर्गन्ध आउन थालेपछि स्थानीयले प्रहरीलाई जानकारी गराएको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले बताए । घटनाको जानकारी पाउनसाथ इलाका प्रहरी कार्यालय रानीका इन्स्पेक्टर प्रवीण घिमिरेको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो ।
प्रहरी घटनास्थल पुग्दा कोठाको ढोकामा भित्रबाट चुकुल लगाइएको थियो । स्थानीय जनप्रतिनिधिको रोहबरमा ढोका खोलेर हेर्दा श्रेष्ठ फ्रिजमा टाँसिएको अवस्थामा लडिरहेको भेटिएको डीएसपी मिश्रले जानकारी दिए । प्रहरीको प्रारम्भिक अनुमानअनुसार श्रेष्ठको मृत्यु दुईदेखि तीन दिनअघि नै भएको हुन सक्छ । घटनास्थलको प्रकृति हेर्दा फ्रिज खोल्ने क्रममा विद्युत् प्रवाह भएर करेन्ट लाग्दा मृत्यु भएको हुन सक्ने आशंका गरिएको छ । यद्यपि, मृत्युको कारण पुष्टि भइसकेको छैन । ‘फ्रिजमा टाँसिएको अवस्थामा डेरावाल मृत भेटिएका छन् । दुई–तीन दिनअघि नै मृत्यु भएको आशंका गरिएको छ,’ डीएसपी मिश्रले भने ।
श्रेष्ठकी श्रीमती रोजगारीका लागि दुबईमा छिन् भने छोरा काठमाडौंमा बस्दै आएका छन् । घटनाको जानकारी पाएपछि छोरा विराटनगर आउँदै गरेको प्रहरीले जनाएको छ । प्रहरीले घटनास्थलको मुचुल्कालगायत कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि कोशी अस्पताल पठाएको छ । इन्स्पेक्टर घिमिरे नेतृत्वको टोलीले घटनाको थप अनुसन्धान गरिरहेको डीएसपी मिश्रले बताए । श्रेष्ठको मृत्यु करेन्ट लागेर भएको हो वा अन्य कुनै कारणले भन्ने कुरा पोस्टमार्टम रिपोर्ट र अनुसन्धानपछि मात्रै खुल्ने उनले बताए ।


