इटहरी। नेपालीका महान् चाड दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गरी इटहरीमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ ।

चाडपर्वका समयमा घर फर्किने तथा विभिन्न गन्तव्यमा आवतजावत गर्ने यात्रुको चाप बढ्ने भएकाले यात्रालाई सहज, सुरक्षित र व्यवस्थित बनाउन इटहरी उपमहानगरपालिका–९ स्थित बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरिएको हो । चाडपर्वका समयमा सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रुबाट बढी भाडा असुली, टिकटमा ठगी, यात्रुमाथि दुर्व्यवहारलगायतका समस्या आउन सक्ने भएकाले त्यस्ता गुनासोको सुनुवाइ तथा तत्काल समाधान गर्ने उद्देश्यले सहायता कक्ष स्थापना गरिएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रमुख प्रहरी उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

उनका अनुसार यात्रु सहायता कक्षमार्फत यात्राका क्रममा सर्वसाधारणलाई आइपर्ने समस्या तथा सार्वजनिक यातायातसँग सम्बन्धित गुनासो सम्बोधन गरिनेछ । यसबाट चाडपर्वका समयमा यात्रुलाई सुरक्षित र सहज रूपमा गन्तव्यसम्म पुग्न सहयोग पुग्नेछ । चाडपर्वलाई लक्षित गरी कोशी प्रदेशका १४ वटै जिल्लामा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । त्यसैगरी इलामको पशुपतिनगर, झापाको काँकडभिट्टा, मोरङको रानी र सुनसरीको भण्टाबारीस्थित चारवटा नाकामा समेत छुट्टै यात्रु सहायता कक्ष स्थापना गरिएको प्रमुख गिरीले बताए ।