इटहरी स् नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उदयपुर क्षेत्र नम्बर १ बाट युवा नेता तथा पत्रकार विश्वराज तामाङ महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।

३५ वर्षमुनिका युवातर्फ सर्वाधिक मत प्राप्त गर्दै तामाङ महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन् । विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका तामाङ अहिले पत्रकारिता तथा सञ्चार उद्यममा समेत सक्रिय छन् । नेपाल विद्यार्थी संघबाट विद्यार्थी राजनीतिमा प्रवेश गरेका तामाङ पछिल्लो समय सञ्चार उद्यमीका रूपमा परिचित छन् ।

तामाङ नेपाल पत्रकार महासंघ उदयपुरका उपाध्यक्ष, प्रेस युनियन उदयपुरका अध्यक्ष तथा आदिवासी जनजाति पत्रकार महासंघका केन्द्रीय उपाध्यक्षसमेत हुन् । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा पनि तामाङ प्रदेश महाधिवेशन प्रतिनिधिमा लोकप्रिय मतसहित विजयी भएका थिए । कांग्रेसको संगठनसँगै पत्रकारिता क्षेत्रमा समेत सक्रिय तामाङ नेपाली कांग्रेस कोशी प्रदेशको सूचना, सञ्चार तथा प्रचार विभागका सदस्यसमेत हुन् ।

१५औँ महाधिवेशनका लागि केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएसँगै तामाङले अब युवा कोटाबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् । युवा पुस्ताको प्रतिनिधित्व गर्दै कांग्रेसको केन्द्रीय नेतृत्वमा पुग्ने लक्ष्यसहित तामाङले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका हुन् ।