इटहरी। सनपाटको रेसा निकालिसकेपछि भित्रको डाँठ ९सन्ठी० ले समेत राम्रो मूल्य पाउन थालेको छ । मूल्य पाउन थालेपछि किसानले आफैँ मोरङका गाउँ–गाउँमा पुर्‍याएर सनपाटको सन्ठी बेच्न थालेका छन् ।

मोरङको रङ्गेली–८, दरबेशाका श्याम पासवानले १० कट्ठामा सनपाट लगाउनुभएको थियो । सनपाटको मूल्य कुरेर बसिरहनुभएका पासवानले सन्ठी प्रतिभारी १५० रुपियाँमा बिक्री गरिरहनुभएको छ । सिटी सफारीमा सन्ठीको भारी राखेर बिक्री गर्न गाउँ–गाउँ डुलिरहनुभएका पासवानले भन्नुभयो, असोज दोस्रो सातायता उहाँ दक्षिणी मोरङका वनको पहुँच नभएका गाउँमा डुली–डुली सन्ठी बिक्री गरिरहनुभएको छ । वनको पहुँच नभएका तराईका गाउँमा सन्ठी गोइँठा बनाउन प्रयोग गर्ने गरिन्छ । गोबरलाई सन्ठीमा बेरेर घाममा सुकाएपछि त्यसलाई दाउराको विकल्पका रूपमा ऊर्जाको साधनका रूपमा प्रयोग गरिन्छ ।

पासवान मात्र होइन, गाउँका अरू किसान पनि सन्ठीको व्यापारमा निस्किएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार एउटा सिटी सफारीमा ४० बिटासम्म सन्ठी अट्छ । सबै बिक्री गर्दा करिब छ हजार रुपियाँ आम्दानी हुन्छ । त्यसबाट दुई हजार पाँच सय रुपियाँ सिटी सफारीको भाडा तिर्नुपर्छ । आफ्नै गाडी हुँदा अझ बढी फाइदा हुने उहाँको भनाइ छ । २०८२ सालको चैत–वैशाखमा जुटको मूल्य प्रतिमन १० हजार रुपियाँभन्दा माथि पुगेपछि किसानले मोरङमा जुट खेती विस्तार गरेका छन् । दक्षिणी मोरङका रङ्गेली, सुनवर्षी र रतुवामाई नगरपालिका तथा धनपालथान र जहदा गाउँपालिकामा यस वर्ष जुटको सघन खेती भएको छ ।

हाल जुटको मूल्य प्रतिमन छ हजार रुपियाँ मात्र रहेकाले किसानले बिक्री गरेका छैनन् । १२ बिघामा जुट खेती गर्नुभएका रमेश यादवले भन्नुभयो, यस वर्ष सन्ठी बिक्रीबाट समेत जुट खेतीमा लागेको खर्च असुल भएको बताउनुभयो । विगतका वर्षमा माग्न आउनेलाई दिँदा–दिँदै सन्ठी सकिने गरेको भए पनि यस वर्ष राम्रो मूल्य पाउन थालेको उहाँले बताउनुभयो । रमेशका अनुसार सनपाट उम्रिँदा साग खान, पात जैविक मलका रूपमा प्रयोग गर्न, रेसाबाट राम्रो आम्दानी लिन सकिने र डाँठसमेत बिक्री हुन थालेपछि किसानलाई थप फाइदा भएको छ ।