इटहरी। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ओखलढुङ्गाबाट ३३ जना महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन्। बिहीबार राति सम्पन्न मतगणनाबाट विभिन्न समावेशी समूहका प्रतिनिधि चयन भएसँगै जिल्लाबाट महाधिवेशनमा प्रतिनिधित्व गर्ने नेताहरूको टुङ्गो लागेको हो।

महाधिवेशन प्रतिनिधिका ३३ पदका लागि ७७ जना उम्मेदवारबिच प्रतिस्पर्धा भएको थियो। मंगलबार भएको मतदानमा जिल्लाका कुल एक हजार ८५१ क्षेत्रीय प्रतिनिधिमध्ये एक हजार ७४९ जनाले मतदान गरेका थिए। खुलातर्फ १० जना प्रतिनिधि निर्वाचित भएका छन्। अजय लुईटेल, उज्जन बुढाथोकी, कमल तामाङ, कुमार लुईटेल, तेजन खनाल, नवराज केसी, नवीन राई, प्रदीपकुमार सुनुवार, रामहरि खतिवडा र रुद्रप्रसाद अधिकारी निर्वाचित हुनुभएको हो। खुलातर्फ १० पदका लागि २२ जना उम्मेदवारबिच प्रतिस्पर्धा भएको थियो।

महिला खुलातर्फ बाला अधिकारी, विन्दा बोगटी, सुशीला तामाङ र सुनिता अधिकारी निर्वाचित हुनुभएको छ। चार पदका लागि आठ जना उम्मेदवारबिच प्रतिस्पर्धा भएको थियो। श्रमिकतर्फ खिलानाथ दाहाल, पेसागत तथा विषय विज्ञतर्फ राजकुमार ढुङ्गाना, ३५ वर्षमुनिका युवा महिलातर्फ यसोदा कार्की तथा युवा पुरुषतर्फ रोशन महतरा र हरिचन्द्र श्रेष्ठ निर्वाचित हुनुभएको छ। यसैगरी, अपाङ्गता समूहबाट गोपालमान थापा, अल्पसङ्ख्यकतर्फ रामकुमार सुनुवार तथा दलिततर्फ होमबहादुर विक र कमलबहादुर विक निर्वाचित हुनुभएको छ। प्रजातन्त्र सेनानी, सहिद परिवार तथा द्वन्द्वपीडिततर्फ बालकृष्ण दाहाल निर्वाचित हुनुभएको छ।

आदिवासी जनजाति खुलातर्फ तीन पदका लागि नौ जना उम्मेदवारबिच भएको प्रतिस्पर्धाबाट प्रविण राई, बुद्धबहादुर तामाङ र ज्ञानेन्द्र रुम्दाली निर्वाचित हुनुभएको छ। आदिवासी जनजाति महिलातर्फ चन्द्रकला तामाङ, पुतलीमाया राई र सङ्गिता तामाङ निर्वाचित हुनुभएको छ। उक्त समूहमा तीन पदका लागि छ जना उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो। खस आर्य महिलातर्फ लालकुमारी धमला तथा खस आर्य पुरुषतर्फ गोविन्द पौडेल र हरिप्रसाद दाहाल निर्वाचित हुनुभएको छ। निर्वाचन परिणामअनुसार खुलातर्फ कुमार लुईटेलले सबैभन्दा बढी एक हजार १०९ मत प्राप्त गर्नुभएको छ। रामहरि खतिवडाले एक हजार मत प्राप्त गर्दै दोस्रो बढी मत पाउनुभएको छ। यसैबिच, नेपाली कांग्रेसको प्रदेश सभा क्षेत्रीय अधिवेशनअन्तर्गत ओखलढुङ्गा प्रदेश सभा ९क० को सभापतिमा विनोद केसी र ९ख० को सभापतिमा इन्द्र केसी निर्वाचित हुनुभएको छ।

कांग्रेसको १५औँ महाधिवेशनका लागि जिल्लामा प्रतिनिधि चयनको प्रक्रिया पूरा भएसँगै ओखलढुङ्गाबाट महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको संरचना टुङ्गिएको छ। कांग्रेसको निर्वाचन कार्यतालिकाअनुसार प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनिधि चयन गरिएको हो। कांग्रेसले १५औँ महाधिवेशनको उद्घाटन असोज १८ गते काठमाडौंको खुलामञ्चमा गर्ने जनाएको छ। यसअघि असोज १६ गतेदेखि महाधिवेशन गर्ने कार्यतालिका रहे पनि विभिन्न स्थानमा भारी वर्षाका कारण अधिवेशन प्रक्रिया प्रभावित भएपछि उद्घाटन मिति दुई दिन पछाडि सारिएको कांग्रेसले जनाएको छ। यसैगरी, नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पार्टीको शेरबहादुर देउवा पक्षले वडा अधिवेशन सुरु गरेको छ। पूर्वनिर्धारित कार्यतालिकाअनुसार देउवा पक्षले बिहीबार जिल्लाको लिखु गाउँपालिकाबाट वडा अधिवेशनको औपचारिक सुरुवात गरेको हो।