इटहरी। साथीको बुवा बिरामी परेर नोबेलमा भर्ना भएपछि सहयोगी बनेका विराटनगर–९ का सुशील साहको बैङ्क खातामा डेढ लाख रुपियाँ आयो । पैसा बिरामी भएका व्यक्तिकै छोराले अस्पतालमा बुझाउन पठाइदिन्छु भनेका थिए ।
साथी साथी भएपछि साहले आफ्नो खातामा आएको पैसा निकालेर अस्पतालको भुक्तानी गर्नुभयो । पैसा पठाउँछु भन्ने आफ्नै साथी भएपछि बाँकी विवरणमा ध्यान गएन । पैसा आउनुको प्रयोजनसँग मात्रै सरोकार राख्नुभएका साह, त्यतिबेला झसङ्ङ हुनुभयो, जब बैङ्क खाता कालो सूचीमा पर्यो । त्यसपछि बैङ्कमा बुझ्दा खाता ब्लक गरिएको जानकारी पाएको साहले बताउनुभयो । ललितपुरका एक जना सेवाग्राहीको बैङ्कबाट पैसा ट्रान्सफर गरेर ठगी गरेको उजुरी प्रहरीमा लेखाएको जानकारी पाएपछि अहिले साह के गर्ने रु भन्ने दोधारमा रहेको सुनाउनुहुन्छ । साहले आफ्नो बैङ्क खाता कालो सूचीमा परेको सूचनासहित साथीलाई घर बोलाएको बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय मोरङमा पुगेर आफ्नो अवस्थाबारे जानकारी गराइसकेको उहाँको भनाइ छ । प्रहरीले साहलाई ट्रान्सफर भएर आएको रकम फिर्ता गर्न भनेको छ तर कसरी पीडक भएँ भन्ने जानकारी नै नभएको साहको भनाइ छ । बैङ्क खाता स्क्याम गर्ने स्क्यामरका कारण साहको खातामा अर्काको एकाउन्टको पैसा ट्रान्सफर भएको हो तर यता आफ्नै साथीले पठाउने भनेको पैसा कहाँ गयो रु भन्ने अहिलेसम्म खुलेको छैन । खास गरी विराटनगर र आसपासका जिल्लामा पछिल्लो समय हुन्डी कारोबारीदेखि अनलाइन ठगी गर्ने स्क्यामर अनि क्रिप्टोकरेन्सी कारोबारको जालो नराम्रोसँग फैलिएको छ । हुन्डी कारोबारीले पैसा ओसारपसारका लागि नगद बोकेर सीमा वारपार गर्नुपर्ने परम्परागत कार्य परिवर्तन भएको छ । उनीहरू व्यक्तिगत र व्यावसायिक प्रयोजनका नाममा खोलिएका बैङ्क खाताबाटै हुन्डीको रकम अनलाइन ट्रान्सफर गराउन थालिसकेको देखिएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीले विराटनगरका दुई जना र धरानका एक जनालाई नियन्त्रणमा लिएको छ । उनीहरूलाई नेपाल राष्ट्र बैङ्कको सूचनाका आधारमा नियन्त्रणमा लिएर प्रहरी अनुसन्धान थालेको थियो । प्रहरी नियन्त्रणमा रहेकामाथि अनुसन्धान गर्दा दुई अर्ब ६१ करोड रकमको कारोबार बैङ्क खातामार्फत हुन्डी, क्रिप्टोकरेन्सी र अनलाइन बेटिङ तथा ठगीमा देखिएको थियो ।
सट्टेबाजी, अभैतिक मुद्रा अनि हुन्डी
विराटनगर–१५, रानीका ४६ वर्षीय शम्भुप्रसाद साह र विराटनगर–१७ का ३४ वर्षीय सुरजप्रसाद साहलाई सुनसरी प्रहरीले हुन्डी कारोबारमा संलग्न आरोपमा पक्राउ गरेको थियो । जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी हेमराज ओलीका अनुसार उनीहरूले बैङ्क खाता खोल्दा कारोबार क्षमता उल्लेख गरेभन्दा धेरै नगद प्रवाह भएको देखिएका आधारमा अनुसन्धान गरिएको थियो । दुवै जनासँग जिल्ला अदालत सुनसरीले जनही दुईरदुई लाख धरौटी माग गरेको छ । बैङ्कमार्फत नै हुन्डी कारोबार गरेको देखिए पनि दुवै जनाविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दाको अनुसन्धान अहिले पनि जारी रहेको हो । साहद्वयले व्यक्तिगत तथा फर्मका नाममा रहेका बैङ्क खाताको कारोबारबाट एक अर्ब ५७ करोड ६४ लाख ३२ हजार ३४० रुपियाँ ८१ पैसा बराबरको रकम प्रवाह गरेको देखिएको छ । जुन खाताको कारोबार विवरणमा उल्लेख गरेभन्दा अत्यधिक नगद प्रवाह भएको देखिन्छ । सूचना अधिकारी ओलीका अनुसार दुवै जनाको कारोबार कनेक्सनले सङ्गठित अपराधलाई समेत आकर्षण गर्ने प्रकारको छ ।
प्रहरीले सुनसरीको धरान उपमहानगरपालिका–१३ का ज्योति शाहीलाई समेत अनुसन्धानको दायरामा ल्याएको छ । अनुसन्धानकै क्रममा शाहीले अनलाइन बेटिङको कारोबार गरेको देखिएको छ । शाहीले ५२ वटा विभिन्न बैङ्क र वित्तीय संस्थाका खातामार्फत एक अर्ब तीन करोड ८४ लाख ७५ हजार ८४५ रुपियाँ बराबरको कारोबार गरेको देखिएको छ । एकै व्यक्तिले फरक फरक बैङ्क खाताबाट उस्तै प्रकारको रकम कारोबार गरेको देखिएका आधारमा शङ्का गर्ने अवस्था सिर्जना भएको हो । ‘शाही मनी ट्रान्सफर’ को नाममा ५२ वटा बैङ्क तथा वित्तीय संस्थाका खाता प्रयोग गरी एक अर्ब तीन करोड ८४ लाख ७५ हजार ८४५ रुपियाँको अनलाइन कारोबार गरेको देखिएको हो ।


