इटहरी । मोरङको पथरीशनिश्चरे नगरपालिका–२ मा निर्माणाधीन खानेपानी ट्याङ्कीमा काम गर्ने क्रममा करेन्ट लागेर एक भारतीय कामदारको मृत्यु भएको छ।
मृत्यु हुनेमा भारतको गोरखपुर घर भएका ४० वर्षीय बाबुराम राजपुत रहेका छन्। प्रहरीका अनुसार आज बिहान करिब ९ः३० बजे राजकुमार चौहानको ठेक्कामा निर्माण भइरहेको खानेपानी ट्याङ्कीमा काम गर्ने क्रममा राजपुतलाई करेन्ट लागेको थियो। करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो।
उपचारका क्रममा बिहान ११ः५५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। अस्पतालका प्रहरी कर्मचारीले दिउँसो १२ बजे इलाका प्रहरी कार्यालय पथरीमा घटनाबारे जानकारी गराएका थिए। जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा खटिएर थप अनुसन्धान गरिरहेको छ। मृतकको शव सोही अस्पतालको शवगृहमा राखिएको प्रहरीले जनाएको छ।


