इटहरी। नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले पार्टीको १५औँ महाधिवेशनअन्तर्गतको अधिवेशन प्रक्रिया आजदेखि सुरु गरेको छ। देउवा पक्षले अघि सारेको कार्यतालिकाअनुसार बिहीबार देशभर वडा अधिवेशन हुँदैछ।
कांग्रेसभित्र महाधिवेशनको प्रक्रिया र आधिकारिकतालाई लिएर दुई समूहले फरक–फरक कार्यतालिका अघि बढाइरहेका बेला देउवा पक्षले आफ्नो छुट्टै अधिवेशन प्रक्रिया सुरु गरेको हो। देउवा पक्षले असोज १५ गतेदेखि वडा अधिवेशन सुरु गरी मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंमा १५औँ महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ। उक्त कार्यतालिकाबारे देउवा पक्षले निर्वाचन आयोगलाई समेत औपचारिक जानकारी गराइसकेको छ। उदयपुरमा देउवा पक्षको अधिवेशन प्रक्रिया व्यवस्थापनका लागि कांग्रेस नेता तथा त्रियुगा नगरपालिकाका प्रमुख बसन्तकुमार बस्नेतको नेतृत्वमा तयारी अघि बढाइएको छ। जिल्लामा अधिवेशन सम्पन्न गर्ने जिम्मेवारी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं। १ मा तिलक कटुवाल र निर्वाचन क्षेत्र नं। २ मा रामकुमार खत्रीलाई दिइएको छ।
त्यसैगरी, त्रियुगा नगरपालिकाको नगर अधिवेशन सम्पन्न गर्ने जिम्मेवारी राजकुमार दनुवारले पाएका छन्। आज हुने वडा अधिवेशनबाट वडा तहको नेतृत्वसँगै क्षेत्रीय प्रतिनिधिसमेत चयन हुने जिल्ला संयोजक बसन्तकुमार बस्नेतले जानकारी दिए। देउवा पक्षले सार्वजनिक गरेको कार्यतालिकाअनुसार असोज २० गते गाउँ तथा नगरपालिका अधिवेशन, असोज २३ गते प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशन, कात्तिक १५ गते जिल्ला अधिवेशन र मंसिर ४ गते प्रदेश अधिवेशन गर्ने तयारी छ। त्यसपछि मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंमा १५औँ महाधिवेशन गर्ने कार्यतालिका अघि सारिएको छ। कांग्रेस जिल्ला प्रवक्ता रोसन कार्कीका अनुसार महाधिवेशनको तयारीका क्रममा जिल्लाका वडा तहदेखि नै संगठनात्मक गतिविधि अघि बढाइएको छ। वडा अधिवेशनबाट चयन हुने नेतृत्व तथा क्षेत्रीय प्रतिनिधिले त्यसपछिका तहका अधिवेशनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछन्।
यसैबीच, कांग्रेसको गगन पक्षले यसअघि नै आफ्नो महाधिवेशन प्रक्रिया अघि बढाइसकेको छ। गगन पक्षले वडा तथा पालिका तहका अधिवेशन सम्पन्न गर्दै प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशनको प्रक्रिया पनि पूरा गरेको जनाएको छ। कांग्रेसको आधिकारिक कार्यतालिकाअनुसार उक्त पक्षले असोज १८ देखि २१ गतेसम्म काठमाडौंमा १५औँ महाधिवेशन गर्ने कार्यक्रम सार्वजनिक गरेको छ। यसरी कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर फरक–फरक कार्यतालिकासहित दुई समूहले समानान्तर रूपमा अधिवेशन प्रक्रिया अघि बढाएपछि यसको प्रभाव जिल्ला तहसम्म परेको छ। उदयपुरमा पनि दुवै पक्षले आ–आफ्नो संगठनात्मक संरचना र अधिवेशन प्रक्रियालाई अघि बढाइरहेका छन्।


