इटहरी । ओपन स्पेस प्रालिको आयोजनामा भइरहेको ‘मिसेस पूर्वेली आइकन’ तेस्रो संस्करणको ग्रान्ड फिनाले यही असोज १९ गते इटहरीस्थित सोल्टी वेस्टेन्ड होटलमा हुँदैछ । 

गत असोज ११ गते ट्यालेन्ट राउन्ड सफलतापूर्वक सम्पन्न भएसँगै आयोजक टिम फिनालेको अन्तिम तयारीमा जुटेको हो । यस पटक विभिन्न पेशा तथा सामाजिक क्षेत्रका १९ जना प्रतिभावान महिलाहरू उपाधिका लागि प्रतिस्पर्धामा उत्रिएका छन् । प्रतियोगिताको चिकित्सा क्षेत्रबाट डा. उरुषा शाह र संगिता शाह छन् भने बैंकिङ तथा कर्पोरेट क्षेत्रबाट जमुना दाहाल, ध्रुव कुमारी गुरुङ, भावना घिमिरे र मनिका चौधरी मैदानमा उत्रिएका छन् ।

त्यसैगरी शैक्षिक तथा सञ्चार क्षेत्रबाट अञ्जिला चौधरी, यमुना महत, सोनी थापा र सिर्जना राउत प्रतिस्पर्धामा छन् । व्यावसायिक तथा उद्यमशीलता तर्फ अलिसा धिमाल, लुइशा पुडासैनी, सुषमा राई श्रेष्ठ, स्वस्तिका चौधरी, शोभा राउत र कुमारी थापा भिड्दैछन् । त्यस्तै, सौन्दर्यकला तथा गृह व्यवस्थापन क्षेत्रबाट अनुपा दङ्गाल, वर्षा गजमेर र सीता वन श्रेष्ठ ताजका लागि भिड्दैछन् । केवल शारीरिक सौन्दर्यभन्दा पनि क्षमता, आत्मविश्वास र सामाजिक दृष्टिकोणको मूल्यांकन गरिने यस प्रतियोगितामा प्रतियोगीहरूको जीवनीमा आधारित ‘भिडियो डकुमेन्ट्री’ विशेष आकर्षण रहनेछ । इभेन्ट डाइरेक्टर सरोज श्रेष्ठको नेतृत्वमा आयोजक टिम कार्यक्रम भव्य बनाउन अहोरात्र खटिरहेको छ ।